उत्तर कोरियामाथि सैन्य आक्रमण गर्ने अमेरिकी चेतावनी



असार २२ – अमेरिकाले उत्तर कोरियामाथि सैन्य आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । उत्तर कोरियाले मंगलबार अन्तरमहादेशमा मार हान्न सक्ने क्षमताको मिसाइल परीक्षण गरेपछि अमेरिकाले यस्तो चेतावनी दिएको हो । आवश्यक परेमा उत्तर कोरियाको गतिविधि विरुद्ध सैन्य कारवाही गर्न सकिने अमेरिकाले जनाएको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलले अमेरिकाले उत्तर कोरियाका कारण उत्पन्न भएको खतराबाट आफ्नो देशको रक्षाका लागि तयारी गरेको बताउनुभयो ।

उत्तर कोरिया विरुद्ध नयाँ प्रतिबन्ध लगाउने सम्बन्धमा संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेश गरिने पनि उहाँले बताउनुभएको छ । उत्तर कोरियाले मंगलबार गरेको मिसाइल परीक्षणले उसले सैन्य क्षमता तीब्र गतिमा विस्तार गरेको देखिने र यो विश्वका लागि खतराको विषय रहेको अमेरिकाको भनाई छ ।

उत्तर कोरियाले मंगलबार जापानको समुद्री क्षेत्रमा अन्तरमहादेशिय मिसाइल प्रहार गरेको थियो ।
संयुक्त राष्ट्रसंघले कुनै पनि किसिमको परमाणु कार्यक्रम गर्न नपाउने गरी उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले भने लगातार मिसाइल परीक्षण गर्ने क्रम रोकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्