अचम्मका कुरा

मुख्यमन्त्री शाहीको आवाज अब दैनिक सुन्न पाइने

By थाहा अनलाइन

June 26, 2018

सुर्खेत, १२ असार ६ नम्बर प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रदेशमा कार्यरत ४२ वटा एफएम रेडियोबाट एकैसाथ १५ लाख जनतामाझ पुगेका छन । कर्णाली प्रदेशमा सोमबारदेखि ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएपछि उनको आवाज जनताले सुन्न पाउने भएका हुन ।

जनता स्वयंको प्रत्यक्ष जिज्ञासा, गुनासा, सुझाव र प्रश्न लिएर प्रदेशको विकास, सुशासनमा गति दिने मुख्य उद्देश्य राखेर ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु गरिएको प्रेस सल्लाहकार धु्रुब बुढाथोकीले जानकारी दिए ।

‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएकै दिनमा दर्जनौँ नागरिकले मुख्यमन्त्री शाहीसँग, साविकको कर्णालीमा राष्ट्रिय प्रसारण लाइन जडान, सडक, युवा रोजगारी सुनिश्चितता कहिलेसम्म हुने जस्ता प्रश्न तथा जिज्ञासा राखेका थिए ।

जिज्ञासा तथा प्रश्न फेसबुक, भाइबर, एसएमएस, स्काइप र टेलिफोनबाट राखेका थिए । आफ्ना जिज्ञासा खुलेरै प्रत्यक्षरुपमा मुख्यमन्त्रीसँग राख्न पाएपछि कर्णालीवासीले खुशीको अनुभूति गरेका छन ।

हिमा गाउँपालिका जुम्लाका रनबहादुर रोकायाले कर्णाली लगायत विभिन्न जिल्लामा अहिलेसम्म पनि विद्युत नहुँदा अँध्यारोमा बस्नुपर्ने बाध्यता भोग्नु परेको गुनासो गरे ।

मुख्यमन्त्री शाहीले जनतासँगको प्रत्यक्ष कुराले प्रदेशको आगामी विकास योजना निर्माणमा सघाउ पुग्ने बताए । “सेवा प्रवाह र पारदर्शिताका विषयमा पनि जिज्ञासा तथा सुझाव आएका छन्, यो राम्रो पक्ष हो,”उनले भने ।

जनताले खबरदारी गर्दै आएको कुराले यो प्रदेशमा सुशासन कायम हुनुका साथै आगामी योजना निर्माणमा सहयोग पुग्ने उनको भनाइ छ ।