कैलाली १२ असार । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि लक्ष्मी बडेलाले श्रीमान्को हत्या गरेकी छिन् । कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी बडेलाले गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको हो ।
तेजबहादुर र लक्ष्मीले गत वैशाखमा मागी विवाह गरेका थिए । यही असार ८ गते श्रीमती लक्ष्मीसहित तेजबहादुर ससुराली गएका थिए । सोही रातिदेखि तेजबहादुर वेपत्ता थिए । सुरुमा आफन्तले खोजी गरेपनि फेला नपरेपछि दुई दिनपछि अर्थात असार १० गते प्रहरीलाई खबर गरे ।
लगत्तै अनुसन्धान गरेको प्रहरीले भासु भिरमा तल खसालेर मारेको पत्ता लगाएको र हत्यामा संलग्न दुवै जनामाथि थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार दीपक र लक्ष्मीले पहिलादेखि नै एकअर्कालाई मन पराउँथे । लक्ष्मीले दीपकसँग विवाह गर्न चाहेपनि परिवारले नमानेर कञ्चनपुरका तेजबहादुर विष्टसँग विवाह गरिदिएका थिए ।
जसरी पनि एक अर्काको हुने भनेर कसम खाएका उनीहरुले असार आठ गते राति तेज बहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा पुर्याएर रडले टाउकोमा हानेर विष्टलाई उनी सवार म १ प ७४७७ को मोटरसाइकलसहित तल खसालेर फर्किएको घिमिरेले बताए ।
प्रहरी अहिले घटनास्थलमा छ । प्रहरीका अनुसार घटनास्थलसम्म पुग्न निकै कठिनाइ रहेको बताएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।