छोराछोरीले साथ छोडेपछि अन्तरिक्षयात्री एल्ड्रिनलाई बुढेसकालमा समस्या



१३ असार
काठमाडौ
चन्द्रमामा पाइला टेक्ने अमेरिकी अन्तरिक्षयात्री बज एल्ड्रिनलाई छोराछोरीले गम्भीर धोका दिएका छन । छोरा एन्ड्र्यु, छोरी जेनिसले आफ्नो दुर्नाम गरेर सम्पती हत्याउने प्रयास गरेको एल्ड्रिनले बताएका छन् । छोराछोरीले पूर्वप्रबन्धक क्रिस्टिना कोर्पसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको एउटा अन्तरतवार्तामा बताएका छन ।

छोराछोरीले आफूलाई विवाह गर्न नदिएर आफ्नो निजी प्रेमसम्बन्धको अनादर गरेको दाबी गर्दै मुद्दा दर्ता गरेका हुन । बीबीसीका अनुसार बृद्ध एल्ड्रिनले भने आफ्ना छोराछोरीले भूतपूर्व प्रबन्धकसँग मिलेर सम्पत्ति हत्याएको र आफूलाई दुर्नाम गरेको भन्दै कानुनी उपचार खोजेका छन ।

एल्ड्रिनले छोरा एन्ड्र्यु र कोर्पले लाखौँ डलर पर्ने अन्तरिक्षसँग सम्बन्धित वस्तुहरू र अन्तरिक्षबाट ल्याइएका आफ्ना चिनोहरू र आर्थिक गतिविधिमाथि अनुचित ढङ्गले नियन्त्रण गरेको दाबी गरेका छन । उता ६० वर्षीय एन्ड्र्यु र जेनिसले आफ्ना बुबाले पछिल्लो समयमा नयाँ साथीहरूसँग घनिष्ठ हुन थालेका र उनीहरूले उनलाई परिवारबाट अलग्याउन खोजेको उजुरीमा उल्लेख गरेका छन ।

गत हप्ता ‘वाल स्ट्रीट जर्नल’मा प्रकाशित एउटा अन्तर्वार्तामा एल्ड्रिनले ‘कसैले पनि मलाई आफ्नो अभिभावकत्वमा राख्छु भनेर नसोचे हुन्छ’ भन्ने आशय व्यक्त गरेका छन ।

छोरा एन्ड्र्युले नियतवश छलकपट गरेर वा तर्साएर सम्पत्ति हत्याएको र छोरी जेनिसले जालझेल गरेको र आफ्नो आर्थिक हितका लागि काम नगरेको आरोप उनले लगाएका छन । उनका जेठा छोरा भने यो विवादमा परेका छैनन ।

अदालतबाट नियुक्त भएका एक मानसिक स्वास्थ्य विशेषज्ञले यो हप्ता एल्ड्रिनको परीक्षण गर्ने बताइएको छ । एउटा विज्ञप्तिमा एल्ड्रिनका छोराछोरीले सो ‘अनुपयुक्त मुद्दा’ बाट आफू दुःखित भएको जनाएका छन ।

मङ्गल ग्रहमा मानव बसोबासका पक्षमा अभियानरत एल्ड्रिन सन १९६० मा एपोलो ११ अभियान अन्तरगत नील आम्स्ट्र्रङसँगै चन्द्रमामा पाइला टेकेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्