काठमाण्डौ १३ असार।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
परराष्ट्रमन्त्री ज्ञवालीले योग्यता र क्षमताको आधारमा राजदूतहरूको नियुक्ति गर्ने योजना पनि अघि सारे।
उनले नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्ने कामलाई सरकारले उच्च प्राथमिकता
दिएको दाबी पनि गरे।
मन्त्री ज्ञवालीले नेपालको तराईमा हुने डुबान समस्या समाधानका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिइएको पनि स्पष्ट पारे।
बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका परराष्ट्र मामिलासम्बन्धी जिज्ञासाहरूको जवाफ दिँदै उनले कालापानी, सुस्ता लगायतका क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्न सरकारले स्थलगत सर्वेक्षणको कामलाई अघि बढाएको पनि जानकारी दिए।
मन्त्री ज्ञवालीले नेपालमा रेल सेवा सञ्चालन गर्ने समझदारी गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल भएको दाबी पनि गरे।
उनले सरकारले वैदेशिक रोजगारीमा जानेहरूको उचित व्यवस्थापन गर्न आवश्यक पहल कदमी गर्नेलगायतका काम भइरहेको पनि बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।