रक्सीले चार जनाको मृत्यु, आधा दर्जनको अबस्था चिन्ताजनक



जनकपुर, १४ असार । धनुषामा विषाक्त रक्सी पिउँदा चार जनाको ज्यान गएको छ भने आधा दर्जन बिरामी भएका छन् ।

धनुषाको पूर्वोत्तर कमला नगरपालिकामा घरेलु विषाक्त मदिरा पिएका चार जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा कमला नगरपालिका–५, लक्करका ३७ वर्षीय मनिक पासवान, ५५ वर्षीय रामचन्द्र पासवान, ४० वर्षीय रामनाथ पासवान र कमला नगरपालिका–६, सिग्याही मडानका ४७ वर्षीय साविर मियाँ अन्सारी रहेका छन् ।

उनीहरु मंगलबार साँझ गाउँकै रक्सी पसलमा अत्यधिक रक्सी सेवन गरेर घर फर्किएका थिए । त्यस रातदेखि नै उनीहरुको स्वास्थ्यमा समस्या आएको थियो ।

सिकिस्त ६ जनाको धनुषाका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । कमला नदीको बाँधनजिक भट्टीमा रक्सी सेवन गरेका उनीहरूलाई रातिदेखि नै रिँगटा लाग्ने, बान्ता हुने, टाउको दुख्ने हुन थालेको थियो । बुधबार बिहानसम्म अचेत बनिसकेका उनीहरूलाई उपचारका लागि जनकपुर ल्याउने तयारी गर्दागर्दै तीन जनाको मृत्यु भएको थियो ।

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रामपरीक्षण यादवले विषाक्त रक्सी सेवनकै कारण उनीहरूको मृत्यु भएको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्