आईजीपी बनेपछि गुमनाम बने सर्वेन्द्र, सुनकाण्डबारे मौनता किन ?



सैघाली खबर, १४ असार ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहँदासम्म ‘दबङ’ शैलीका चर्चित एवं काबिल प्रहरी अधिकारीको परिचय बनाएका सर्वेन्द्र खनाल महानिरीक्षक (आईजीपी) बनेपछि गुमनामजस्तै भएका छन् । आईजीपी नियुक्त भएको दुई महिनाको अवधिभित्र सुन तस्करी प्रकरणमा प्रहरीकै उच्च अधिकारीको संलग्नता रहेको पर्दाफास भएको छ ।

तर, आइजीपी सर्वेन्द्रले यसबारे बोलेका छैनन् । सुनकाण्डको प्रारम्भिक अनुसन्धान गरेको अपराध महाशाखाको टोलीलाई नै तस्करको मतियार बनेको अभियोगमा लाग्दासमेत आइजीपी मौन छन् । मोरङ जिल्ला अदालतले नेपाल प्रहरीका तत्कालीन महाशाखा प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीसहित अन्य अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश पनि दिएको छ ।

यसबीचमा प्रहरीको नायब उपरीक्षक (डीएसपी) र उपरीक्षक (एसपी) बढुवामा पनि राजनीतिक चलखेल भएको व्यापक गुनासो आएको छ । तर, यी प्रकरणहरुमा संगठन प्रमुख खनाल मौन बसेका छन् । उनले न त सार्वजनिक रुपमा केही बोलेका छन्, न त ब्रिफिङमा आफ्नो नै धारणा सार्वजनिक गरेका छन् । के आइजीपी खनालले डीआईजी हुँदासम्मको छवि धमिलो बनाउन थालेका हुन् ? प्रहरी संगठनभित्र र बाहिरसमेत टीकाटिप्पणी हुन थालेको छ ।

‘विभाग हाम्रो हातमा त छ ?’

सुनकाण्डमा मुछिएका तत्कालीन अपराध महाशाखाका अधिकारीको पक्षमा पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, डीआईजी हेमन्त मल्ल ठकुरी र रमेश खरेलले सार्वजनिकरुपमा अभिव्यक्ति दिए । उनीहरुको अभिव्यक्तिविरुद्ध गृह मन्त्रालयले विज्ञप्ति नै जारी गर्‍याे । तर, प्रहरी हेडक्वार्टरले यति ठूलो प्रकरणमा कुनै विज्ञप्ति जारी गरेन ।

गृह मन्त्रालयले अदालतमा समेत विचाराधीन मुद्दामा जिम्मेवार व्यक्तिहरु संवेदनशील नभएको टिप्पणी गरेको थियो । तर, आईजीपी खनालले यस प्रकरणमा न अनुसन्धान अधिकारीहरुको बचाउ गरे । न त उनीहरुलाई कारबाही गर्नुपर्ने पक्षमा नै अभिव्यक्ति दिए । बरु मौन बसे ।

‘पूर्वप्रहरी अधिकारीको भनाइमाथि विभागबाटै पहिले स्पष्ट धारणा सार्वजनिक हुनुपर्नेमा गृह मन्त्रालयबाट आयो’, नेपाल प्रहरीका एक पूर्वआईजीपीले  भने, ‘यसले विभाग हाम्रो हातमै छैन कि भन्ने पनि भान हुन्छ । संगठनका वहालवाला अधिकारीहरुले नै पनि यस्तो गुनासो गर्न थालेका छन् । यो एउटा उदाहरण मात्रै हो । पछिल्लो समय यो कुरालाई पुष्टि गर्ने अन्य गतिविधि समेत देखिएका छन् ।’

सुनकाण्डमा प्रहरीको एउटा ठूलो जमात मुछिएका बेला संगठनका बहालवाला अधिकारीहरुमा एक किसिमको द्विविधा रहेको उनी बताउँछन् । ‘सुन प्रकरणसहित बढुवामा भएको भनिएको चलखेल लगायतका विषयले संगठनका अधिकारीहरुमाथि कन्फ्यूजन देखिएको छ’, उनले भने, ‘यस्तो अवस्थामा संगठन प्रमुखले ती समस्यामाथि आफ्नो धारणा व्यक्त गर्नु पर्ने हो । तर, त्यो हुन सकेन ।’

आफूसहितका अन्य अधिकारीहरुले नेतृत्वमा रहेका बेला त्यस्ता विषयहरुमाथि कतिपय कुरा सार्वजनिकरुपमै त कतिपय ब्रिफिङमा बोल्ने गरेको भन्दै उनले भने, ‘अहिले विभागीय कुरासमेत गृहतिरैबाट आउन थालेका छन् ।’

बढुवा विवादः गृहमन्त्री बोले, आईजीपी चुप

डीएसपी र एसपी बढुवामा कामको मूल्याङ्कनभन्दा राजनीतिक पहुँचका आधारमा निर्णय भएको भन्दै प्रहरी संगठनभित्र असन्तुष्टि छ । बढुवामा कार्यक्षेत्रमा खटिएर अब्बल कार्यक्षमता प्रदर्शन गरेका भन्दा नेताका नजिककालाई प्राथमिकतामा राखिएको भन्दै अधिकारीहरुले असन्तुष्टि जनाउने गरेका छन् ।

डीएसपीबाट एसपी बढुवा सूचीमा रहेका गंगा पन्त, वसन्त रजौरे, सोमेन्द्रसिंह राठौर, प्रवीण पोखरेल, भूपेन्द्रबहादुर खत्री, प्रज्वल महर्जनहरु वरियतामा पछाडि परे भने केही आशलाग्दा अधिकारी बढुवा सूचीमै परेनन् । एसपी बढुवामा एक नम्बरमा परेका अच्यूतम पुडासैनी गृह मन्त्रालयका सह–सचिव हरिशरण पुडासैनीका भाइ हुन् ।

प्रधानमन्त्री केपी ओलीको सुरक्षामा खटिएका डीएसपी सानुराम भट्टराई चौथो नम्बरमा परे भने माधव नेपाल प्रधानमन्त्री हुँदा उनका अंगरक्षक रहेका अभिनारायण काफ्ले ८ औं नम्बरमा बढुवा भए ।त्यस्तै, इन्स्पेक्टरबाट डीएसपी बढुवा पनि विवादित बन्यो । पूर्वगृहमन्त्री वामदेव गौतमका पीएसओ भीमबहादुर लामा बढुवा सूचीको शीर्षस्थानमा परे ।

यसविषयमा पनि आईजीपी सर्वेन्द्र खनाल मौन बसेका छन् । बरु गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले एक कार्यक्रममा सञ्चारकर्मीलाई सम्बोधन गर्दै ‘पहिले तलमाथि भएकालाई सच्चाइएको’ टिप्पणी गरेर बढुवा प्रक्रियाको बचाउ गरेका थिए ।

सचिवालयमा चर्चा – आईजी सा’ब सन्तुलित हुनु भो !

आईजीपी बनेपछि गुमनाम बनेका सर्वेन्द्रको पछिल्ला कार्यशैलीबारे उनकै सचिवालयमा पनि विभिन्नखाले चर्चा हुने गरेका छन् ।सचिवालयमा रहेका एक अधिकारी खनालले सन्तुलित बन्ने नीति लिएको बताउँछन् । ‘अहिले दुई ठूला पार्टीहरु एक ठाउँमा छन् । उनीहरुलाई खुशी पार्न पनि संगठनभित्र चलखेल भइरहँदा उहाँ मौन बस्नुभएको जस्तो भान हुन्छ’, ती अधिकारीले भने ।

विभिन्न प्रकरणमा प्रहरी अधिकारीहरु मुछिँदासमेत संगठन प्रमुखका तर्फ स्पष्ट धारणा नआउँदा प्रहरी संगठनमाथि नै प्रश्न उठ्ने ती अधिकारी बताउँछन् ।खनाललाई राम्रोसँग चिन्नेहरुका अनुसार उनी वाम सरकारका मन्त्रीहरुको प्यारो बन्ने दौडमा छन् । यसले गर्दा उनी प्रहरी संगठनको व्यवसायिकतालाई भन्दा बढी मन्त्रीहरु खुशी पार्नेतर्फ केन्द्रित छन् ।

यसैवीच भर्खरै अमेरिका भ्रमणबाट फर्केका आइजीपी खनालले आज औपचारिक पत्रकार सम्मेलन गर्न लागेका छन् । सुनकाण्डमा प्रहरी अधिकारीहरुको संलग्नताबारे आइजीपी खनालले मुख खोल्छन् या खोल्दैनन्, हेर्न बाँकी छ । यसका साथै राजधानीमा दिनदहाडै मानिसहरुको हत्या भइरहेको, ट्रिपर आतंक नरोकिएको र राजधानीको ट्राफिक व्यवस्थापन अनि ट्याक्सीले यात्रुमाथि गरिरहेको ठगीबारे आइजीपी खनालले कस्तो प्रतिक्रिया दिन्छन्, आजै थाहा हुनेछ ।।onlinekhabar

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्