चितवन १४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अबको एकता दीर्घकालीन हुने बताएका छन्।
बिहिबार चितवनमा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले सो कुरा बताएका हुन्।
अध्यक्ष थापाले राप्रपा प्रजातान्त्रिकसँग पार्टी एकताका लागि कुरा भइरहेको भन्दै अघिल्ला पटकको जस्तो छोटो समयमा विभाजन हुने गरी नभई अबको एकता दीर्घकालीन हुने बताएका हुन्।
यसका साथै, उनले सरकारको अहिलेको गतिविधि हेर्दा केही आशा र आशंका पैदा गरेको बताएका छन्।
उनले दुई तिहाइ बहुमतको सरकारबाट अहिले जनाताले राजनीतिक स्थायित्व, विकास र समृद्धिको आशा गरेको भन्दै तर सरकारबाट दुई तिहाइ मतको दुरुपयोग गर्दै एक दलीय शासन पद्धति ल्याउने होकि भन्ने आशंका पनि रहेको बताए।
उनले भने, ‘दुई तिहाइ मतको दुरुपयोगले गर्दा मुलुकमा बिखण्डनकारीले फाइदा लिन सक्ने खतरा पनि कायम नै छ।’
मुलुकमा यो अवस्था आउन नदिनका लागि बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको उनको भनाइ थियो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।