सैघाली खबर, १५ असार ।
प्रहरीले वीरगञ्जबाट एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । सर्लाही हरिपुर नगरपालिका-९ बस्ने सन्तोषकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
एक किलो अवैध सुन बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका शंकाराचार्य गेट अगाडिबाट साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । ‘एक किलो अबैध सुनसहित एक जनालाई पक्राउ गरेका छौं,’ उनले भने, ‘उनी बारे थप अनुसन्धान भइरहेको छ ।’
पूर्व सूचनाका आधारमा इनर्वा प्रहरी चौकीका इन्चार्ज त्रिभुवन साह नेतृत्वको टोलीले सुन बरामद गरेको प्रहरीले जनाएको छ । खान तलासी गर्दा साह चढेको ना ४८ प ३७७४ नम्बरको मोटरसाइकलको सिटमुनी रहेको एयर फिल्टरमा लुकाइएको अवस्थामा सुन फेला परेको थियो ।
६ टुक्रा सुनलाई कालो टेपले बेरेर त्यसपछि कागजमा राखेर फेरि सेतो टेपले बेरेर राखिएको अवस्थामा फेला परेको थियो । दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी जिल्ला प्रहरी कार्यालय पर्साले गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।