माछापुच्छ्रे आरोहण विवाद: सांसद् खुलाउने पक्षमा, संस्कृतिविद् भन्छन् हुँदैन



कुमारी हिमाल माछापुच्छे खुलाउने प्रस्तावमा प्रदेश सांसद रामजि बराल जीवनले साथ दिएका छन् । माछापुच्छ्रे गाउँपालिकाले आ.व.२०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत माछापुच्छ्रे हिमाल आरोहण खुलाउन गरेको प्रस्तावमा माछापुच्छ्रे हिमाल पर्ने सम्बन्धित कास्की ३ को प्रदेश क्षेत्र नम्बर १ का सांसद बरालले समर्थन गर्दै त्यसका लागि पहलकदमी लिने बताएका हुन् ।

प्राकृतिक सम्पदा मानव जातिको हितका लागि प्रयोग गर्नकै लागि भएकाले यसको समुचित प्रयोग गरेर स्थानीयको आयआर्जनमा वृद्धि गर्दै समृद्धिमा सघाउन आरोहण खोल्नुपर्ने उनको भनाइ छ । तर सम्बन्धित सरोकारवालाहरुले भने अन्य विकल्प हुँदाहुँदै कुमारी हिमाल माछापुच्छ्रे आरोहण खुलाउन नहुने बताएका छन् ।

उनीहरुले भने कुमारी हिमाल आरोहण खोल्ने हो भने त्यसको अस्तित्व नै संकटमा पर्न सक्नेसमेत चेतावनी दिएका छन् । माछापुच्छ्रे हिमालको संरचना अति जटिल प्रकारको भएकाले त्यसमध्ये कुनै एक संरचना बिग्रिन पुगे सुन्दर भनिएको कुमारी हिमाल माछापुच्छ्रेको सुन्दरता कुरुपतामा परिणत हुने उनीहरुको तर्क छ ।

यसअघि माछापुच्छ्रे गाउँपालिकाको आ.व.२०७५/७६ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले कुमारी हिमाल भनेर आरोहण गर्न प्रतिबन्ध लगाइएको माछापुच्छ्रे हिमाल पर्यटक आगमनमा भारी वृद्धि र रोजगारी सिर्जनाका लागि भन्दै आरोहण खुलाउनुपर्ने बताएका थिए । उनले हिमाल अब हेरेर मात्र हैन चढेर आनन्द लिनुका साथै जिविकोपार्जनका लागि आयआर्जनको माध्यमसमेत बन्नुपर्ने बताए ।

गुरुङले पवित्र ठाउँ चढ्नै हुँदैन भन्ने मान्यता गलत भएको बताउँदै पेरुमा एउटा धार्मिक रुपमा पवित्र हिमाल रहेको र त्यो आरोहण गर्न पाइने बताए । कुमारी हिमाल माछापुच्छ्रे आरोहण खुलाउने गुरुङको प्रस्तावमा प्रदेश सांसद रामजी बराज जीवनले समर्थन जनाएका छन् । पर्यटन वर्ष सफल बनाउँदै वार्षिक २० लाख पर्यटक भित्राएर ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने अभियानलाई सफल बनाउन नयाँ नयाँ पर्यकीय गन्तव्य खुलाउनुपर्ने बताउँदै त्यसका लागि आकर्षक गन्तव्य माछापुच्छ्रे हुने उनको भनाइ छ ।

सांसद बरालले माछापुच्छ्रेलाई कसैले लहडका भरमा कुमारी भनिएको हुनसक्ने भन्दै यो किन र के का लागि कुमारी भनियो भन्ने बारेमा पुष्टि हुने कुरा नरहेको तर्क गरे । सांसद बरालले माछापुच्छ्रे हिमाल आरोहण खुलाउनेबारे सर्वप्रथम बहस् चलाउनुपर्ने बताए । बहस् चलाएर सकारात्मक निश्कर्ष निस्केपछि मात्र आरोहण शुरु गर्नुपर्ने उनको भनाइ छ ।

तर पोखरा पर्यटन परिषदले भने अहिले नै कुमारी हिमाल माछापुच्छ्रे आरोहण खुलाउन नहुने बताएको छ । परिषदका अध्यक्ष केदारनाथ शर्माले कुमारी हिमालको अस्तित्व र त्यसको सुन्दरता कायम राख्नका लागि आरोहण खुलाउन नहुने बताए । अन्य हिमाल आरोहण खुलाउन बाँकी रहेको भन्दै ती हिमाल पहिले खुलाउनुपर्ने बताए ।

संस्कृतिविद् तीर्थ श्रेष्ठ पनि कुमारी हिमाल माछापुच्छ्रे आरोहण खुलाउने विपक्षमा छन् । कुमारी हिमाल माछापुच्छ्रे सुुन्दर भएकाले यो चढ्नका लागि नभई हेर्नको लागि भएको उनको भनाइ छ । उनले भने, ‘माछापुच्छ्रे हिमाल सारै सुन्दर छ, सुन्दरता चढ्नका लागि हैन हेर्नका लागि हो, माछापुच्छ्रे हिमाल आरोहण खुलाउने प्रस्ताव सारै गलत छ, यो कुनै हालतमा आरोहण खोल्नु हुँदैन ।’

पर्यटनमा दख्खल राख्ने संस्कृतिबिद श्रेष्ठले हिमाल आरोहणका विकल्पहरु धेरै भएको बताए । उनले अन्नपूर्ण हिम श्रृंखलाका ५ वटा फरक–फरक हिमाल आरोहण खोल्न बाँकी रहेकाले त्यसलाई खोल्न सुझाव दिए । सबै विकल्प सकिएपछि मात्र अन्तिम विकल्पका रुपमा माछापुच्छ्रेलाई लिनुपर्ने उनको मत छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्