धानमा आत्म निर्भर गराउने लक्ष्य



काठमाडौँ, १६ असार ।

देशको प्रमुख अन्नबालीको रूपमा रहेको धान उत्पादनमा सरकारले तीन वर्षमा आत्मनिर्भर हुने लक्ष्य राखेको छ । के अबका तिन बर्षमा धानमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य हासिल हुन सक्ला ? भन्ने प्रश्न उव्जिएको छ । किसानहरूका अनुसार सिंचाइ र गुणस्तरीय बीउको अभाव तथा धानको राम्रो बजार नहुने जस्ता पुरानै समस्या कायम रहेमा धान उत्पादन वृद्धि दिगो हुन सक्दैन । किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ रासायनिक मल, बीउ बीजन र सिंचाइको राम्रो व्यवस्था सरकारले गर्न सकेमात्र धानमा आत्मनिर्भर हुन सकिने बताउनुहुन्छ ।

प्रयाप्त सिंचाइ नभएको अवस्थामा समयमा पानी परेन भने कसरी बढ्न सक्छ उत्पादन ? श्रेष्ठको प्रश्न छ । परम्परागत र बर्षाको पानीको भरमा मात्र गरिने खेतीले वृद्धिदर दिगो नहुने उहाँले बताउनुभयो । हालसम्म देशभरको खेतीयोग्य जग्गाको करिब ३८ प्रतिशत जमिनमा मात्र सिंचाइ सुविधा पुगेको सरकारी आंकडा छ । यसरी आकाशे पानीकै भरमा धान बाली लगाउनुपर्ने बाध्यताको अन्त्य नहुँदासम्म धानमा आत्मनिर्भर हुने सरकारको लक्ष्य पूरा हुन नसक्ने किसानहरु बताउँछन् ।

नेपालमा वार्षिक रूपमा करिव ६० लाख मेट्रिन टन धान खपत हुन्छ । त्यसमध्ये गत वर्ष ५१ लाख मेट्रिक टन धान उत्पादन भयो भने बाँकी करिव १० लाख मेट्रिक टन धान अन्य मुलुकबाट आयात भएको थियो । त्यसरी धान आयात गर्न २२ अर्ब भन्दा बढी रकम खर्च भएको सरकारी तथ्याङ्क छ । कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीको भनाइमा सरकार अहिले धान आयात घटाइ धानमा आत्मनिर्भर हुनका लागि प्रयासरत छ । ‘यसपटक हामीले चैते धान व्यापक रूपमा लगाएका छौं । यस्तै धानको उत्पादन दोब्बर बनाउन अन्तराष्ट्रिय धान अनुसन्धान संस्था (आईआरआई) सँग पाँच वर्षको सम्झौता गरेका छौं । सिंचाइका लागि ट्युबवेल र सौर्य सिंचाइ विस्तार गरिरहेका छौं’ कार्कीले बताउनुभयो ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्