काठमाडौं, १६ जेठ । सभामुख कृष्णबहादुर महराले नेपालको लोकतन्त्र प्राप्तिको लडाईंमा संसदीय व्यवस्था अभिन्न रुपले जोडिएको बताउनुभएको छ ।
६०औं संसद दिवसको अवसरमा पूर्व सांसद मञ्च नेपालले संसद भवन वानेश्वरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले यस्तो बताउनुभएको हो ।
‘लोकतन्त्र प्राप्तिको लडाईंमा नेपालको संसदीय व्यवस्था अभिन्नरुपले जोडिएको छ, सभामुख महराले भन्नुभयो, ‘कहिले हामीले हाम्रा अधिकारहरु गुमाएका छौं, कहिले संघर्ष गरेर प्राप्त गरेका छौं । निरंकुशतासँग लड्दै कहिले भूमिगत त कहिले खुला आन्दोलन पनि गर्नुपरेको छ ।’
नयाँ संविधानले संघीय संसदको परिकल्पना गरेको भन्दै सभामुख महराले संघीय संसदको पहिलो प्राथमिकतामा कानून निर्माण रहेको बताउनुभयो । ‘अहिले संसदको मुख्य प्राथमिकता भनेको विभिन्न कानूनहरु निर्माण गर्नु रहेको छ, पूर्वसांसदहरुर्ला सम्बोधन गर्दै सभामुख महराले भन्नुभयो, कानून निर्माणमा तपाईंहरुको सल्लाह, सुझाव र सहयोग जरुरी छ ।’
राज्यलाई जनताप्रति उत्तरदायी बनाउने र जनताको आवाज राज्यलाई सुनाउने काम संसदकै भएको बताउँदै सभामुख महराले संसदभित्र प्रतिनिधित्व नगर्ने दलको पनि आवाज अभिव्यक्त हुनुपर्नेमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
२०१६ र ४६ सालको भन्दा राजनीतिक र सामाजिक विकासको हिसाबले फरक संसदीय अभ्यासमा रहेको भन्दै सभामुख महराले यहाँसम्म आइपुग्न विगतका गौरवपूर्ण संघर्षको देन रहेको बताउनुभयो ।
पटक–पटक लोकतन्त्र गुमाउनु परेको इतिहास फेरि पनि नदोहोरियोस् भन्नेमा आफूहरु सचेत रहेको भन्दै सभामुख महराले संसदलाई थप बलियो, प्रभावकारी र गतिशील बनाउन पूर्वसांसदहरुको अनुभव र ज्ञान आवश्यक रहेको बताउनुभयो ।
पूर्वसांसदहरु पनि संसदकै अभिन्न अंगको रुपमा रहेको भन्दै सभामुख महराले नीति निर्माण, राज्यलाई जनताप्रति उत्तरदायी बनाउन र संसदमा जनताका आवाज अभिव्यक्त हुने वातावरण बनाउने काममा सक्रिय सहयोग र सहभागिता जनाउन पूर्वसांसदहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सभामुख महराले पूर्व सांसद मञ्च नेपालले प्रकाशन गरेको स्मारिका विमोचन गर्नुभएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।