दाङमा कुन गाउँ तथा नगरमा एमाले की काँग्रेस पहिलो



दाङ,२३ असार

असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचन २०७४ मा नेकपा एमालेले दाङमा ऐतिहासिक जित हासिल गरेपनि वडा तहमा भने नेपाली काँग्रेस नै पहिलो भएको छ ।

एमालेले दाङका दुई उपमहानगरपालिका, एउटा नगरपालिका र तीन गाउँपालिका जित्दै ऐतिहासिक जित हासिल गरेको हो । यसअघि ०५४ मा भएको स्थानीय निकायको निर्वाचनमा पनि एमाले यस्तै जित हासिल गरेको थियो । तर, हालसम्मका कुनैपनि संसदीय निर्वाचनमा एमालेले काँग्रेस र माओवादी केन्द्र झैं पुरै दाङमा जित हासिल गरेको इतिहास भने छैन।

एमालेले तुलसीपुर र घोराही उपमहानगरपालिका र लमही नगरपालिकासहित गढवा गाउँपालिका, दंँगीशरण गाउँपालिका र बबई गाउँपालिकामा जित हासिल गरेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले बताए । एमालेले लमही नगरपालिका र दंँगीशरण गाउँपालिकाको प्रमुखमा जितेपनि उपप्रमुखमा भने नेपाली काँग्रेसले जितेको मुख्य निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।

स्थानीय तहको दृष्टिले काँग्रेसले दाङमा एमालेको भन्दा ठिक आधा तह मात्रै जितेको छ । काँग्रेसले शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र राप्ती गाउँपालिकामा प्रमुख उपप्रमुखमा जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्र एउटा स्थानीय तहमा मात्रै विजयी भएको छ । माओवादी केन्द्रले वँगलाचुली गाउँपालिकाको प्रमुख उपप्रमुखमा जितेको छ । दाङमा दश स्थानीय तह छन् ।

एमाले ६ जना प्रमुख र ४ जना उपप्रमुखमा विजय भएको छ । एक सय वडा रहेको दाङमा ३१ वडा अध्यक्ष र सदस्यतर्फ एक सय ५२ जितेको छ । एमालेले दाङमा कुल १ सय ९३ जनप्रतिनिधि आफनो पोल्टामा पार्न सफल भएको छ ।

यसैगरी, नेपाली काँग्रेसलाई कुल ६४ हजार ८ सय ३६ मत प्राप्त भएको छ । कांग्रेसले ३ जना प्रमुख ५ जना उपप्रमुख र ४२ वडामा जित हासिल गरेको छ । दाङमा काँग्रेसका १ सय ५३ सदस्यसहित कुल २ सय ३ प्रतिनिधी विजयी भएका छन ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले दाङमा ४५ हजार १ सय ७५मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रले दाङमा १ प्रमुख १ उपप्रमुख र २६ वडा अध्यक्ष जितेको छ । दाङमा उसका ९३ सदस्यसहित १ सय २१ जनप्रतिनिधी विजयी भएका छन ।

यस्तै, मधेशी जनअधिकार फोरमका दुई वडा सदस्य निर्वाचित भएका छन् । बबई गाउँपालिकामा एकजना स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् । बबई गाउँपालिका अन्तरगतको वडा नं।७ मा स्वतन्त्र उम्मेदवार महावीर चौधरी निर्वाचित भएका छन् ।

चौधरीले एमालेका वडा अध्यक्षका उम्मेदवार कृष्ण चौधरीलाई ७ मतान्तरले पराजित गरेका थिए । त्यसैगरी, लमही नगरपालिका वडा नं। १ को वडा अध्यक्षमा निर्वाचित नेकपा एमालेका नुमराज पौडेले काँग्रेसका उम्मेदवार दामोदर पौडेलाई एक मत अन्तरले पराजित गरेका थिए । एमालेका पौडेललाई वडा अध्यक्षमा ५६० र काँग्रेसका पौडेललाई ५५९ मत प्राप्त भएको थियो ।

दाङमा ५ सय २० जनप्रतिनिधीका लागि २ हजार ३ सय ८२ जना चुनावी मैदानमा उत्रिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्