प्रदेश ६

डा केसीलाई सुरक्षित स्थानमा नलगिए आन्दोलन गर्छौ : चिकित्सक संघ

By थाहा अनलाइन

July 02, 2018

सैघाली खबर, १८ असार ।

नेपाल चिकित्सक संघ कर्णाली शाखाले तीन दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेको छ।

संघले आज विज्ञप्ति जारी गर्दै डा केसीलाई तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेको हो।

‘यथासिघ्र सुरक्षित स्थानमा स्थानान्तरण गरिएन भने हामी चिकित्सकहरु क्डाभन्दा कडा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य हुनेछौं,’ संघको विज्ञप्तिमा भनिएको छ।

अनसनका कारण डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र प्रशासनले अस्पतालमा जान समेत अवरोध गरेपछि संघले डा केसीको उपचारको माग गरेको हो।

संघले डा केसीलाई कबर्ड हलमा कैदी सरहको अवस्थामा राखेको भन्दै विरोध गरेको छ। अनसनका लागि जुम्ला पुगेका डा केसीलाई शनिबार प्रहरीले हिरासतमा लिएको घटनाप्रति संघले आपत्ती जनाएको छ।

पटक पटकको अनसनका कारण डा केसीको अवस्था यसपटक अनसनको दोस्रो दिनमा नै जटिल बनेको बताइएको छ।

डा केसीको अवस्था जटिल बनेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले अस्पताल सार्नुपर्ने भन्दै जुम्लास्थित जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई जानकारी गराएका थिए। लगातारको अनसन र चिसो तथा फोहोर कोठामा अनसन बस्दा डा केसीलाई आइसियुमा लैजानु पर्ने अवस्था आइसकेको भन्दै चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई जानकारी गराएका थिए।

चिकित्सकको टोलीले डा केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराएपछि प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा डा केसीको अवस्था र आइसियुमा लैजानु पर्ने विषयमा अवगत गराएका थिए। तर, गृहमन्त्री रामबहादुर थापाले प्रधानमन्त्री कार्यालयबाट डा केसीलाई अस्पताल नलैजान र यथास्थानमा नै राख्ने कुरा भएको भन्दै अस्पताल नलैजान निर्देशन दिएको स्रोतले जानकारी दिएको छ।

गृहमन्त्रीबाट नै उपचारमा नलैजान भन्ने आदेश आएपछि जुम्ला प्रशासनले डा केसीलाई शनिबारबाट अनसन गरिरहेको स्थान कवर्डहलमा नै राख्न भनेको छ। प्रतिष्ठानका चिकित्सकले भने अध्याँरो र फोहोरी कोठामा राख्दा डा केसीको स्वास्थ्यमा जतिबेला पनि संक्रमण फैलनसक्ने बताइरहेका छन्।

तर, प्रशासनले माथिको आदेश नआएसम्म पठाउन नमिल्ने भन्दै अवरोध सिर्जना गरिरहेको छ।