अचम्मका कुरा

अझैं सुध्रिएन भारतको हेपाहा प्रवृतिः डुबानमा परेपछि गण्डक नहरको बाँध भत्काए नेपालीले

By थाहा अनलाइन

July 04, 2018

गण्डक नहरका कारण खेती योग्य जमिन डुबानमा परेपछि पीडितहरूले गण्डक नहरको बाध भत्काएका छन् । नवलपरासीको सुस्ता गाउँपालिका–२ लक्ष्मीपुरमा खेतमा जमेको पानीको निकास नभएपछि उनीहरूले भारततर्फ पानी लैजाने गण्डक नहरको डिल भत्काएका हुन् । स्थानीयले रातिको समयमा डिल भत्काएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

भारतीय पक्षले वर्षायामको पानी निकासका लागि ‘साइफल’ मर्मत नगर्दा खेतीयोग्य जमिन वर्षेनी डुबानमा पर्ने गरेको आजको नयाँ पत्रिकामा समाचार छ । पाण्डेका अनुसार अहिले करिब तीन सय विगाहा जमिन डुबानमा परेको छ । धान खेती डुबानमा परेपछि आक्रोशित किसानले राति नहरको डिल फुटाएको सुस्ता गाउँपालिका–२ का अध्यक्ष कृष्णलाल मुखियाले बताए ।

नहरको डुबानका कारण खेतमा जमेको पानीको मात्रा निकै घटेको छ । सुुस्ता गाउँपालिका अध्यक्ष पाण्डेले भारतीय पक्षकालाई जानकारी गराएको र प्रतिनिधिहरू आइसकेकाले छलफल गरी निकास निकाल्ने बताए ।

नहरकै कारण वर्षेनी डुबानमा पर्नेगरेको र भारतिय पक्षले कुनै चासो नदिएपछि पीडितहरूले गत वर्ष पनि नहर फुटाउने प्रयास गरेका थिए । नवलपरासीका प्रमूख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले समस्या समाधानको विषयमा भारतीय पक्षसँग छलफल सुरू गरिएको जानकारी दिए ।