मुख्य समाचार

नेविसंघको विरोध प्रदर्शन

By थाहा अनलाइन

July 04, 2018

काठमाडौँ, २० असार । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठनले सरकारविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । सरकारले निषेधित क्षेत्र तोकेकै ठाउँमा नेविसंघले प्रदर्शन गरेको हो ।

नेविसंघले निषेधित क्षेत्र तोडेपछि प्रहरीले पनि लाठी चार्ज गरेको छ । प्रहरीसँगको धकेलाधकेलका क्रममा नेविसंघका कार्यकर्ता दोलखाका अर्बत खड्का घाइते भएका छन् । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनमा नेविसंघका पूर्वसभापति तथा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी थिए । प्रर्दशनलाई ध्यानमा राखेर माइतीघर मण्डलामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

प्रदर्शनकारीले ‘निषेधाज्ञा खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतको नारा लगाएका थिए । सरकारले काठमाडौंको माइतीघरलगायत सार्वजनिक स्थलमा सभा र प्रदर्शन गर्न निषेध गर्दै त्यसका लागि निश्चित ७ ठाउँ तोकेको छ ।

यसअघि विवेकशील साझा पार्टीले पनि मण्डलामा प्रर्दशन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । मण्डलालाई निषेधित क्षेत्र तोकेपछि सरकारको आलोचना भएको छ ।

आजै बसेको काँग्रेस संसदीय दलको बैठकले शान्तिपूर्ण रुपमा भेला भई आफ्ना विचार राख्ने जनताको अधिकारलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेकोमा आपत्ती प्रकट गर्दै सरकारले तत्काल उक्त निर्णय फिर्ता नलिए जनताको तर्फबाट नेपाली कांग्रेसले निषेधाज्ञा अवज्ञा गर्ने निर्णय गरेको थियो ।