प्रदेश र संसदको निर्वाचनमा इलेक्ट्रिक मेसिन प्रयोग हुने



काठमाडौं, २३ असार । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेश र संसदको निर्वाचन एकै चरणमा गर्न असंभव रहेको दोहोर्‍याउनु भएको छ ।

काठमाडौंको थापाथलीमा शुक्रबार जियोक, नियोक र संकल्पले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उपस्थित प्रमुख निर्वाचन आयुक्त यादवले प्राविधिक, भौतिक र अन्य विविध कारणले दुई वटा निर्वाचन एकै चरणमा गर्न असम्भव रहने बताउनु भएको हो ।

‘निर्वाचन आयोग सबै निर्वाचन गर्न तयार छ’, उहाँले भन्नुभयो, ‘तर, प्रदेश र संसदको निर्वाचन एकै चरणमा गर्ने कुरा सम्भव छैन ।’
उहाँले केही समयको अन्तरमा निर्वाचन माघ ७ गतेभित्र गर्न सकिने बताउनुभयो ।

५ अर्ब खर्च, ३ अर्ब फिर्ता

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा ५ अबै ५४ करोड रुपियाँ खर्च भएको प्रमुख आयुक्त यादवले बताउनुभयो । ‘स्थानीय तहको दुई चरणको निर्वाचनमा ५ अर्ब ५४ करोड रुपियाँ खर्च भएको छ’, उहाँले भन्नुभयो, ‘प्रतिव्यक्ति ४८८ रुपियाँ खर्च लागेको छ । विदेशमा प्रतिव्यक्ति १० देखि ३० डलरसम्म खर्च हुने गरेको रहेछ ।’

निर्वाचनका लागि सरकारले दिएको रकममध्ये ५ अर्ब रुपियाँ फिर्ता गरिएको यादवले बताउनुभयो । उहाँले यसपटक स्वदेशी पैसामा निर्वाचन गरिएको बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त यादवले भन्नुभयो, ‘यसपटक हामीले धेरै स्वदेशी पैसा खर्च ग¥यौँ । विदेशबाट पनि सयहोग आएको थियो । हामीले लिएनौँ । थोरै मात्रै सहयोग लियौँ ।’

‘सचिव सरुवामा मैले माफी मागी सकेको छु’

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगका सचिव सरुवा सरकारको तजबिजको कुरा रहेको बताउँदै निर्वाचन आचार संहिता विपरित सरुवा भएकोमा आफूले गल्ती गरेको स्वीकार गर्नुभयो । ‘सचिवको सरुवा निर्वाचन आचार संहिता विपरित भयो’, उहाँले भन्नुभयो, ‘यो विषयमा मैले माफी मागी सकेको छु । फेरि पनि माफी माग्छु ।’

‘मतदाता नामावली संकलन हुन्छ’

प्रमुख निर्वाचन आयुक्त यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिने वित्तिकै मतदाता नामावली संकलन गरिने बताउनुभयो । ‘मतदाता नामावली अपडेट गर्ने तयारीमा छौँ’, उहाँले भन्नुभयो, ‘छिट्टै नामावली संकलन हुन्छ ।’

‘दिङ्लाको घटना राजनीतिक हो’

सोलुखुम्बुको दिङ्लामा निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरेर बस्दा पनि कसैको उम्मेदवारी नपरेको यादवले बताउनुभयो । ‘हामीले सबैसँग सल्लाह गरेर निर्वाचन कार्यक्रम अगाडि बढायौँ’, उहाँले भन्नुभयो, ‘दिङ्लामा कसैले उम्मेदवारी पनि दिनुभएन । मतदान पनि गर्नुभएन । यो राजनीतिक विषय हो । सरकारको विषय हो ।’

‘प्रदेश र संसदको निर्वाचनमा इलेक्ट्रिक मेसिन’

निर्वाचन आयोगको प्राविधिक टोलीलाई छिट्टै भारत पठाएर इलेक्ट्रिक भोटिङ मेसिनका विषयमा अध्ययन गर्ने प्रमुख आयुक्त यादवले बताउनुभयो । ‘भारतमा संसदको निर्वाचनमा भोटिङ मेसिन प्रयोग भएको छ’, उहाँले भन्नुभयो, ‘नेपालमा पनि त्यसको सम्भाव्यताका विषयमा अध्ययन र अनुसन्धान सुरु भएको छ । सबैको सरसल्लाहमा अगाडि बढ्ने छौँ । उहाँले प्रदेश र संसदको निर्वाचनमा इलेक्ट्रिक भोटिङ मेसिन प्रयोग गर्ने विषयमा छलफल सुरु भएको बताउनुभयो ।

भरतपुर घटना दोहोरिएन

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भारतपुर घटना नदोहोरियोस् भनेर निर्वाचन आयोग सचेत रहेको प्रमुख निर्वाचन आयुक्त यादवले बताउनुभयो । ‘भरतपुर घटना नदोहोरियोस् भनेर हामी सचेत थियौँ र छौँ’, उहाँले भन्नुभयो, ‘सबै मतदान गणनास्थलमा सर्तक रहन निर्देशन दिएका थियौँ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्