नेकपाको नियमावलीलाई सचिवालयले टुङ्गो लगाउने



 

काठमाडौँ, २१ असार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आजको स्थायी कमिटी बैठकले पार्टीको नियमावलीमा प्राप्त सुझाव समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिएको छ ।

पार्टी एकतापछि आज बसेको स्थायी कमिटी दोस्रो बैठकमा पार्टीका मातहत र जनसंगठनका कमिटी तथा पदाधिकारी संख्या र समावेशिताका बारेमा सुझाव प्राप्त भएको र त्यसलाई ध्यान दिएर सचिवालय बैठकले टुङ्गो लगाउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी कमिटी ४५ सदस्यीय छ ।

 

उहाँले सचिवालयको बैठक छिट्टै बस्ने बताउँदै नियमावली पारित भएपछि मातहतको संगठनबीच एकता कार्य हुने जानकारी दिनुभयो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो । एकता घोषणामा तीन महिनाभित्र सबै जिल्ला र जनसंगठन र मातहतका कमिटीको एकता गरिने जनाइएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता सम्मिलित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले समसामयिक राजनीतिक स्थिति तथा आफ्नो हालैको चीन भ्रमणका उपलब्धिबारे अवगत गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले चीन र भारतका भ्रमणबाट ती मुलुकसँग नेपालको स्वतन्त्र परराष्ट्र नीतिका आधारमा राम्रो र प्रभावकारी सम्बन्ध विकास भएको तथा आपसी हितमा सम्झौता भएको बताउनुभएको थियो ।

तीनै तहका सरकारको समग्र समीक्षा गरी कामलाई प्रभावकारी बनाउने बारेमा स्थायी कमिटीको अलग्गै बैठकसमेत तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । (श्रव्य सामग्री उपलब्ध छ)

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्