सर्वोच्च अदालतमा खुलेन भरतपुरको च्यातिएको मतपत्रको पोको



असार २४, काठमाडौं 

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान वा मतगणना भन्ने विवादको छिनोफानो सर्वोच्च अदालतले शुक्रबार पनि गर्न सकेन। अदालतको आदेश अनुसार च्यातिएका मतपदसहितका सम्पूर्ण मिसिल असार १ गते इजलासमा पेश भए पनि विवादको छिनोफानो भने लम्बिएको छ। च्यातिएको मतपत्रको पोको शुक्रबार पनि सर्वोच्चको इजलासमा खुल्न नसकेपछि कम्तीमा पनि आउँदो सोमबारसम्म भरतपुर प्रकरणको अन्तिम निर्णय आउने छैन। शुक्रबार मुद्दाको सुनुवाईको पेसी न्यायाधीशद्वय मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा तोकिए पनि सुनुवाइको पालो आएन। पालो नआएपछि मुद्दा हेर्न नभ्याइने सूचीमा पर्‍यो। सर्वोच्च प्रशासनले मुद्दाको पेसी आउँदो सोमबारका लागि तोकेको छ। जेठ १४ गते मध्यरातमा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थगित गरेको थियो। निर्वाचन आयोगले उक्त प्रकरणको स्थलगत छानबिनपछि वडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेको थियो। निर्णय विरुद्ध वडा नम्बर १९ मा एमालेका तर्फबाट वडा सदस्यका उम्मेदवार गुञ्जमान विकले सर्वोच्चमा रिट दायर गरेका थिए। यसअघि सर्वोच्चको असार ६ गतेको आदेश अनुसार च्यातिएको मतपत्र अदालतमा पेश गरिएको छ। वडा नम्बर १९ मा ९० मतपत्र च्यातिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको ठहर छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्