काठमाडौं, २४ असार ।
संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि सहमति जुटाउने प्रयासस्वरुप प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र रापप्रपाका शीर्ष नेताहरूसँग परामर्श गर्नुभएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार बिहान भएको वार्तामा संविधान संशोधनको विधेयकका विषयमा छलफल भएको हो ।
‘संविधान संशोधन प्रस्तावलाई अघि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नेबारे नेताहरूबीच छलफल भएको हो’, माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
छलफलमा कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधनमा राप्रपाको धारणाबारे चासो राखेका थिए । राप्रपाका नेताहरूले संविधान संशोधन प्रस्तावमा आफूहरू सकारात्मक रहेको जानकारी दिएका थिए ।
शुक्रबार बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरूको बैठकमा संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्ने समझदारी भएको थियो । त्यसलगत्तै राप्रपासँग परामर्श भएको हो ।
बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सपभाति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष कमल थापा र राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर राणा सहभागी हुनुहुन्थ्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।