पोखरा – “बाबा आमा जाने बेलामा राम्रोसँग पढ्नु, पकाएर खानु, भाइलाई माया गर्नु भन्नुभएको थियो,” – १२ वर्षीय विवश घर्तीमगरले भने ।
मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा परी विवशका बाबुआमा दुबैको ज्यान गएपनि उनका आफन्त र छिमेकीले अझै उनलाई मृत्युको खबर सुनाउन सकेका छैनन् ।
शनिबार उनीहरू बस्ने घरमा पुग्दा विवशका छ वर्षीय भाइ चाउचाउ खाँदै दाईको कुरालाई खण्डन गर्दै थिए, “बाबा आमाले माया गर्ने भन्नुभएको थियो यसले मलाइ पिट्छ, आज पनि पिटेको थियो ।”
बाबाआमा गुमाएका ती नाबालकलाई कोठामा भेट्ने र देख्ने जो कोहीलाई यतिखेर निकै चिन्तित बनाएको छ ।
१२ वर्षीय विवश र उनका भाई छ वर्षीय विशेषन घर्तीमगरलाई उनका बाबुआमा मौसम घर्तीमगर र जीतमाया घर्तीमगरले पोखराको नयाँबजारस्थित भाडाको कोठामा किराना पसलबाट आवश्यक खाद्यान्न उपलब्ध गराउने व्यवस्था गरी छोडेको लगभग तीन महिनाअघि रोजगारीका सिलसिलामा मुस्ताङ गएका थिए ।
घर्तीमगर दम्पत्ति वैशाखअघि त्यहीँ नजिकैको सेतीनदीस्थित रामघाटमा बालुवा बोकेर जिविकोपार्जन गर्दै आएका थिए ।
वर्षात शुरु भएसँगै सेती नदीमा पानी बढेका कारण रोजगारी खोसिएपछि अर्को रोजगारीको खोजीमा घर्तीमगर दम्पत्ती वैशाखमा बिरूवा कन्ट्रक्सन प्रा।लि।ले जोमसोम–लोमान्थाङ सडक निर्माण मजदुरकारुपमा मुस्ताङ पुगेका थिए ।
कमाएर कोठा भाडा र छोराहरूले खाएको खाद्यान्नको पैसा बुझाउँछौं, छोराहरूलाई सहयोग गरिदिनु होला, तपाइँकै जिम्मामा छोडेर गयौँ भनेको आजै हो जस्तो लाग्दछ, घरभेटी वीरबहादुर गोदारले दुःख व्यक्त गर्नुभयो ।
बाबु र आमा दुवै अभिभावक गुमाएका नावालकको भविष्यकालागि सरकार लगायत सम्बन्धित निकायबाट उचित व्यवस्था गरिनुपर्ने उहाँको जोड थियो ।
नयाँ बजारस्थित मैत्री चिल्डे«ेन एकेडेमीमा कक्षा ७ मा पढ्ने विवश र कक्षा एकमा पढ्ने विशेषन खाना पकाइ खाइवरी दिउँसो स्कुल जाने गरेको नयाँ बजारमा नै बस्दै आएकी रोल्पा थवाङकी वीसमाया पुनले बताउनुभयो ।
“बिचरा साना बच्चा छन्, उनीहरूलाई बाबुआमाको मृत्यु भएको खबर दिन पनि सकेका छैनौं,” उहाँले भन्नुभयो, “बाबुआमाको मृत्युले यिनीहरूको विचल्ली हुनेभयो ।
छिमेकीका अनुसार घरपरिवारलाई सुखी र खुसी बनाउने सोचका साथ मंसीरमा दुबई गएका मौसम बिरामी भएपछि दुई महिनामै स्वदेश फर्की सेतीनदीको रामघाटमा श्रीमतीसँगै बालुवा बोकेर गुजारा टार्दै आएका थिए ।
सेती बढेसँगै बालुवा बोक्ने काम पनि बन्द भएपछि रोजगारको सिलसिलामा मुस्ताङ गएका मौसमलाई गएको तीन महिना नबित्दै नियतीले नराम्रोसँग ठग्यो, दुर्घटनामा श्रीमती सहित उनले ज्यान गुमाउन पुगे ।
नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरमार्फत आज बिहान दुर्घटनास्थल स्याङ्बोचेबाट पोखरा विमानस्थलमा ल्याइएका मौसम दम्पत्तिको शव पोष्टमार्टमका लागि पश्चिमान्चल क्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
रोजगारीका लागि विकट जिल्ला रोल्पाबाट आएर दुई छोराको पालन पोषण र शिक्षाका लागि मुस्ताङ पुगेका मौसम दम्पत्तिको बारेमा दुःख व्यक्त स्वाभाविकै भएपनि अभिभावक गुमाएका बालकहरूको भविष्यका लागि सरकार, विभिन्न संघसंस्थाले तत्काल सोच्नु अपरिहार्य भएको उनीहरूको कोठामा पुग्नेहरूको एउटै धारणा रहेको छ ।sajhakhabar

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।