सैघाली खबर, २५ असार ।
युरोपेली संघबाट बेलायतको वहिर्गमनसम्बन्धी वार्ताको जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले पदबाट राजीनामा दिएका छन् ।प्रधानमन्त्री टेरिजा मेको मन्त्रिपरिषद्ले युरोपेली संघसँगको भावी व्यापार सम्बन्धबारेको नयाँ प्रस्तावमा सहमति जनाएको दुई दिनपछि मन्त्री डेभिसले राजीनामा दिएका हुन् ।
आफूले चाहेकोभन्दा फरक ढंगले प्रधानमन्त्रीले युरोपेली युनियनसँगको भावी सम्बन्धबारे मन्त्रिपरिषद्मा सहमति जुटाएपछि उनले पदबाट राजीनामा दिएको बताइएको छ । उनको राजीनामालाई प्रधानमन्त्री मेका लागि एउटा ठूलो धक्काको रुपमा लिइएको छ । मन्त्री डेभिसले ब्रेक्जिट वार्ताहरूमा प्रधानमन्त्री मेको अडानलाई लिएर धेरै पटक राजीनामा दिने चेतावनी दिएका थिए ।
युरोपेली युनियनसँग वार्ता गर्ने जिम्मेवारीसहित सन् २०१६ मा उनी मन्त्री नियुक्त भएका थिए । युरोपेली संघबाट बेलायत अलग हुनुपर्ने पक्षधर मानिने कन्जरभेटिभ पार्टीका सांसद पिटर बोनले डेभिसको राजीनामालाई एउटा सम्मानजनक र साहसिक निर्णय भन्दै प्रशंसा गरेका छन् ।
उनले डेभिसले सही काम गरेको टिप्पणी गर्दै बहिर्गमनबारे प्रधानमन्त्रीको नाममात्रको प्रस्ताव स्वीकार्य नहुने बताए । लेबर पार्टीका प्रमुख इयान लेभरीले भने अहिले भद्रगोलको अवस्था आएको र प्रधानमन्त्री मेसँग अब कुनै सामथ्र्य बाँकी नरहेको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।