सैघाली खबर, २५ असार ।
गृह मन्त्रालयले व्यावासायिक प्रवेशाज्ञा बिजनेस भिसाको आडमा चर्च चलाएर धर्म प्रचारमा संलग्न फिलिपिनी दम्पतीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन डिपोर्ट गरेको छ । व्यावसायिक भिसा लिएका केही विदेशी चर्च चलाएर धर्म प्रचारमा संलग्न भएको उजुरी आएपछि गृह मन्त्रालयले अध्यागमनलाई छानबिन गर्न निर्देशन दिएको थियो ।
निष्काशित हुनेमा फिलिपिनी नागरिक दे भेरा रिर्चड र इन्डोनेसियाकी रिता गोङ्गा रहेको छ । इसाइ धर्म प्रचारमा संलग्न भएका आरोपमा कुनै विदेशीलाई गृह मन्त्रालयले निष्काशन गरेको यो सम्भवतः पहिलो घटना हो । अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले भिसा दुरुपयोग गर्ने जो कोहिमाथि कारवाही हुने बताए ।
महानिर्देशक काफ्लेले भने, ‘एउटा प्रयोजनका लागि लिएको भीसा अर्को प्रयोजनमा प्रयोग गर्न पाईंदैन । फिलिपिनी दम्पत्तीले भीसाको दुरुपयोग गरे ।’ विदेशी नागरिक अनुगमन निर्देशिका लागू भएपछि अध्यागमन विभागलाई विदेशी नागरिकको निगरानी गर्न सहज भएको छ ।
निर्देशिका लागू भएपछि अध्यागमनले धर्म प्रचारलगायत अध्यागमन कानुन उल्लंघन गर्ने विदेशीलाई निगरानीमा रोखेको छ । ललितपुरको पुल्चोकमा रेष्टुरेण्ट चलाएर बसेका फिलिपिनी दम्पत्तीले कुमारीपाटीको ‘इभर नेसन चर्च’ मा पादरी भइ इसाईधर्म प्रचार गरेको अभियोगमा अध्यागमन विभागले छानबिन थालेको थियो ।
छानबिनमा उनीहरूले व्यवसायिक भीसाको आडमा चर्चमार्फत् इसाईधर्म प्रचार गरेको पुष्टी भएपछि अध्यागमन विभागले एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै शुक्रबार निष्काशन गरेको हो । अध्यागमन विभागले उनीहरूलाई सिल्क एयरबाट सिंगापुर हुँदै फिलिपिन्स पठाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।