गंगामायाको अनशन तोडाउने प्रयास, यसरी उपस्थित गराइयो छविलाललाई अदालतमा



सैघाली खबर, २५ असार ।

छोराका हत्या अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएपछि जेठ १५ देखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको अनशन तोड्ने प्रयास सुरु भएको छ । मानवअधिकारकर्मीहरु सुवोधराज प्याकुरेल, कनकमणि दीक्षितलगायतको पहलमा अनशन तोडाउने प्रयास भइरहेको एक मन्त्रीले बताए ।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त भनिएका गोरखा फुजेलका ७८ वर्षीय छविलाल पौडेलले आइतबार सर्वोच्चमा आत्मसमर्पण गरेका थिए । अदालतको आदेशमा उनलाई आइतबार नै डिल्लीबजार सदरखोरमा पठाइएको छ । पौडेललाई जेल चलान गरिए पनि विगतमा जस्तै अदालतबाट छुट्ने आशंका गर्दै गंगामायाले कारवाहीको सुनिश्चितता नभएसम्म अनशन जारी राख्ने अडान लिएकी छन् ।

तर, महान्यायाधिवक्ता अग्नि खरेलले गंगामायाको मागबमोजिम अदालतको आदेश कार्यान्वयनका क्रममा अभियुक्तलाई कारागार चलान भइसकेकाले कानूनी कारवाहीलाई अब बन्देज नरहेको जवाफ सरकारको तर्फबाट मानव अधिकारकर्मीमार्फत गंगामायासमक्ष पठाएका छन् । अब अदालतको अन्तिम फैसला सबैका लागि मान्य हुने सरकारको भनाइ छ ।

स्रोतकको दाबीअनुसार सोमबार नै गंगामायाको अनशन श्रृंखला अन्त्य हुनेछ । कानूनमन्त्री शेरबहादुर तामाङले जुस पिलाएर गंगामायाको अनशन तोडाउने तयारी भइरहेको स्रोतले जनाएको छ । गंगामायालाई प्रयोग गरेर सरकारविरुद्ध माहोल सिर्जना गर्ने प्रयास भइरहेको पुष्टि भएपछि यो प्रकरण अन्त्य गर्न प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डकै तहमा छलफलपछि छविलाललाई अदालतमा उपस्थित गराइएको स्रोतका दाबी छ ।

प्रचण्ड पत्नी सीताको उपचारका क्रममा सिंगापुर रहेकै बेला महान्यायाधिवक्ता खरेलले प्रचण्डसँग पटक–पटक सम्पर्क गरी गंगामायालाई नेकपा र सरकारविरुद्ध प्रयोग गर्न खोजिएको भन्दै छविलाललाई अदालतमा उपस्थित गराउनेबारे परामर्श गरेका थिए । तत्कालीन माओवादीका नेताहरुले छविलाललाई अदालतमा उपस्थित गराउने कुराले गंगामायाको अनशन तोडिने तर द्वन्द्वकालीन मुद्दाहरु यही आधारमा सक्रिय हुने आशंका व्यक्त गरेपछि यो प्रक्रिया लम्बिएको थियो ।

तर, महान्यायाधिवक्ताको आश्वासनपछि प्रधानमन्त्री केपी ओलीको समेत सहमतिमा छविलालको खोजी भयो । उमेरले ७८ पुगेका र विभिन्न रोगबाट ग्रसित छविलाल केही दिनअघि मात्रै आँखाको शल्यक्रिया गरेर काठमाडौंमा बसिरहेका थिए । उनलाई परिवार र तत्कालीन माओवादी नेताहरुमार्फत् कुरा गरेर अदालतमा आत्मसमर्पण गराइएको स्रोतले जनाएको छ । ०६१ जेठ २४ गते तत्कालीन विद्रोही माओवादीले कृष्णप्रसादको हत्या गरेका थिए ।

छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशन बसेका पिता नन्दप्रसादको अनशनरत अवस्थामै मृत्यु भइसकेको छ । नन्दप्रसादको शव अहिलेसम्म शिक्षण अस्पतालमै छ । हत्याका मुख्य अभियुक्त भनिएका रुद्र आचार्य बेलायतमा छन् । उनीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ । छविलाललाई भने जिल्ला र तत्कालीन पुनरावेदन अदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै रिहा गरेको थियो । तर, सर्वोच्च अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि फरार थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्