नारायणगढ–मुग्लिन सडक भासिनेक्रम जारी, यसबारेमा के भन्छन् विज्ञ ?



सैघाली खबर, २८ असार ।

नारायणगढ–मुग्लिन सडकखन्डको गाईघाटनजिक सडक भासिएको ठाउँमा भित्तो काटेर वैकल्पिक मार्ग तयार गर्ने तयारी गरिएको छ । सो सडकको भूगर्भविद् अच्युत कोइराला नेतृत्वको विज्ञ समूहले अनुगमन गरेको थियो । समूहले विस्तृत् प्रतिवेदन काठमाडौं फर्किएर दिने बताइएको छ ।

कोइरालाले भने–‘सम्भवतः भित्तो काटेर वैकल्पिक सडक निर्माण गर्नुकोे विकल्प छैन ।’ उनकाअनुसार ११ मिटर फराकिलो सडकमध्ये ८ मिटर भासिएको छ । भासिएको जति भित्तो काट्नुपर्ने देखिएको उनले बताए । कोइरालाले बिहीबार बिहानसम्म नियमित अनुगमन गर्न लगाएको बताउँदै अरु भासिँदै गएमा तत्काल भित्तो काट्ने र रोकिएमा भासिएको सडकलाई मर्मत–सम्भार गर्नसकिने या नसकिने विषयमा छलफल गरिने जानकारी दिए ।

काठमाडौं फर्किएपछि यसअघि सो ठाउँमा ‘रक स्वायल एङ्करिन’ गरेका विज्ञ समूहसँग पनि छलफल गर्ने उनले बताए । मंगलबार बिहानदेखि भासिन सुरु गरेको सो सडकमा भासिनेक्रम निरन्तर बढिरहेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार विसुरालले विज्ञहरुको प्रतिवेदनको पर्खाइमा रहेको बताए । भासिनेक्रम जारी रहेकाले भित्तो काट्नुको विकल्प भने नदेखिएको उनले बताए ।

सडक भासिनेक्रम बढ्दै गएपछि मंगलबारदेखि नै सडक एकतर्फी सन्चालनमा ल्याइएको छ । सो स्थान नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ पर्दछ । सडकको ३० मिटर लम्बाइ र छेउबाट ८ मिटर चौडा भाग भासिएको हो । सो ठाउँमा ९ मिटर कालोपत्र गरिएको छ । कालोपत्रको नदीतर्फ थप दुई मिटर खुला भाग रहेको छ ।

सोही ठाउँमा २०६० सालमा रक स्वायल एङ्करिङ गरिएको थियो । तत्कालीन सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर प्रकाश उपाध्यायले सोही क्षेत्रमा त्यतिबेला सडक भासिएर रक स्वायल एङ्करिङ गरिएको बताए । भित्तोमा ड्रिल गरी १०/१५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङ्करिङ भनिन्छ ।

सोही ठाउँको रक एङ्करिङले काम गर्न छोडेर वा त्रिशूली नदीले बाटोमुनिको भागमा खोलेर भासिएको हुनसक्ने अनुमान गरिएको छ । हाल सो सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ । सोही सडक हुँदै दैनिक १० हजारको हाराहारीमा सवारी–साधन आवात–जावत गर्ने गर्दछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्