सैघाली खबर, २९ असार ।
मलेसियामा सुरक्षा गार्ड आपूर्ति गर्ने कम्पनीहरुको छाता संगठन ‘पिपिकेके एम’ले नेपाली कामदार ल्याउने वातावरण बनाउन माग गर्दै मलेसियाको पुत्राजयस्थित गृह मन्त्रालयमा बिहीबार दुई घण्टा धर्ना दिएका छन् । आर्थिक भार पार्ने गरी लागू गरेका व्यवस्था नहटाएसम्म नेपाली कामदार नपठाउने निर्णय सरकारले गरेपछि जेठको पहिलो साता रोजगारदाताले नेपाली लैजान पाएका छैनन् । यसको सबैभन्दा बढी असर सुरक्षा गार्डको क्षेत्रलाई परेको छ ।
मलेसियाले नेपालबाट मात्रै सुरक्षा गार्ड लिन पाउने व्यवस्था छ । सुरक्षा गार्ड आपूर्ति गर्ने रोजगारदाताहरुले आफूहरु निकै समस्यामा परेको भन्दै यथाशक्य नेपाली कामदार ल्याउने वातावरण तय गर्न दबाब दिन गृह मन्त्रालयमै धर्ना दिएको वैदेशिक रोजगार व्यवसायी संघका विशेष प्रतिनिधि कुमार केसीले बताए । नेपाल सरकारले लिएको निर्णयबारे मलेसियाका रोजगारदाताहरुलाई जानकारी दिन संघले विशेष प्रतिनिधिको रुपमा केसीलाई पठाएको थियो ।
मलेसियाले सरकारी कर्मचारीलाई सहजीकरण गर्ने विवादस्पद ‘माइ इजी’ कम्पनीलाई खारेज गरेपछि उनीहरुले झन नेपाली कामदार ल्याउन नपाउने स्थिति बनेको थियो । ‘रोजगारदाताले यथाशक्य नेपाली कामदार ल्याउनको लागि व्यवस्था मिलाउन आफ्नो सरकारलाई दबाब बढाउन थालेका छन्,’ केसीले भने ।
मलेसिया सरकारले छिट्टै नै नेपाली कामदार ल्याउने वातावारण बन्ने जनाएको छ । ‘अर्को हप्ता संसद्को बैठक बस्दैछ । त्यसपछि यो विषय अगाडि बढ्नेछ । आशा छ नेपालबाट छिट्टै कामदार आउने वातावरण बन्नेछ,’ गृहमन्त्री म्युहिदिन यासिनको भनाइ उद्धत गर्दै रोजगारदाताका प्रतिनिधि पुवहन नथनमले भने, ‘नेपाली कामदारको विषय छिट्टै हल हुनेछ । तपाईंहरुले राम्रो समाचार पाउनुहुनेछ ।’
मलेसियामा झन्डै सात सय सुरक्षा गार्ड आपूर्ति गर्ने रोजगारदाताहरु छन् । उनीहरुले १७ सयदेखि २२ सय रिंगेटसम्म पाउने गरेका छन् । केसीले छुट्टाछुट्टै रुपमा मलेसियाको क्षेत्रगत रुपमा संगठित रोजगारदाताहरुलाई नेपाल सरकारले लिइएको निर्णयबारे जानकारी गराएको बताए ।
ती रोजगारदाताहरुले पनि सरकारलाई नेपाल समस्या यथाशक्य हल गर्न दबाब दिएको छ । नेपाल सरकारले भिसा आइसकेका कामदारलाई समेत श्रम स्वीकृति नदिएपछि रोजगारदाताहरुलाई झन् समस्या परेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाले कामदारलाई भार पर्ने व्यवस्था नहटेसम्म कामदार नपठाउने अडानलाई यथावत राखेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।