काठमाडौँ, ३० असार । टिप्परको ठक्करबाट काठमाडौँको सोल्टीमोडमा एक जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो १ बजे सोल्टीमोडमा ना ७ ख ९४७५ नम्बरको टिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक अनुजाका दाजु अनुज भने सामान्य घााइते भएका छन् । घाइते अनुजाको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
चापागाउँबाट धादिङ नौविसेमा सिमेन्ट फ्याक्ट्रीका लागि ढुंगा बोकेर हिँडेको टिपरले उनीहरूलाई ठक्कर दिएको थियो । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।
उत्यकामा टिप्परको ज्यादतीबाट साना सवारी चालकहरु आजित भएका छन् । पछिल्लो समय यस्ता घटनाहरु बढेपछि सरकारको समेत ध्यानाकर्षण भएको थियो ।
सरकारले एकहप्ता अघि मात्रै उपत्यकामा बिहान पाँच बजेदेखि राति आठ बजेसम्म टिपर चलाउन रोक लगाएको थियो । तर, यो घटनाले त्यसको कार्यान्वयन नभएको देखाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।