पुराना कारागारको जीर्णोद्धार र सुधार हुन्छः गृहमन्त्री शर्मा



२५ असार

गृहमन्त्री जनार्दन शर्माले कैदीको सङ्ख्याका आधारमा कारागारमा स्वास्थ्य केन्द्र राख्नेसम्बन्धी योजना बढाइएको बताएका छन्।

व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले पुराना कारागारको जीर्णोद्धार गर्नेसम्बन्धी योजना बनाई सुधार अघि बढाइएको जानकारी गराए।

काठमाडौँको ट्राफिक जाम हटाउने सम्बन्धमा विभिन्न मन्त्रालयसँग समन्वय गर्नुपर्ने आवश्यकता भएकाले सोहीअनुसार छलफल गरी काठमाडौँ महानगरपालिकाका कार्यकारी प्रमुखको संयोजकत्वमा समिति बनाई तत्काल काम गर्न पहल शुरु गरिएको जानकारी पनि उनले दिए।

नयाँ गन्तव्यबारे पहल हुँदै

त्यसैगरी श्रममन्त्री फरमुल्ला मन्सुरले मुलुकमा पर्याप्त रोजगारीको व्यवस्था हुन नसक्दा कामका लागि विभिन्न मुलुकमा २२ लाख नेपाली रहेको र त्यसमध्ये ९० प्रतिशत मध्यपूर्वी मुलुकमा मात्र रहेको जानकारी दिँदै आकर्षक रोजागारीका लागि नयाँ गन्तव्यका बारेमा मन्त्रालयका तर्फबाट पहल भइरहेको बताए।

उनले वैदेशिक रोजागारीबाट प्राप्त विप्रेषणले मुुलुकको कुल गार्हस्थ्य उत्पादनमा २९‍.६ प्रतिशत योगदान पुर्याए पनि प्राप्त रकम उत्पादनशील क्षेत्रमा उपयोग हुन नसकेको बताए।

मन्त्री मन्सुरले मन्त्रालयले विदेशमा जाने व्यक्तिलाई सीपमूलक तालिम दिने योजना अघि सारेको बताउँदै वैदेशिक रोजगारीका पीडितका उजुरीमाथि आवश्यक छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिएको जानकारी पनि दिए।

बैठकमा शहरी विकासमन्त्री प्रभु साहले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै काठमाडौँ मात्र नभई देशका प्रमुख शहरलाई आधुनिक र सुविधासम्पन्न बनाउन गुरुयोजना बनाई कार्यान्वयन गर्न मन्त्रालयले पहल शुरु गरेको जानकारी दिए।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्