मुख्य समाचार

संसदमा प्रतिनिधित्व गर्न प्रत्यक्षमा १ सिट र ३ प्रतिशत मत ल्याउनै पर्ने

By थाहा अनलाइन

July 11, 2017

असार २७,  काठमाडौं 

सरकारले प्रतिनिधिसभा निर्वाचनमा ३ प्रतिशतभन्दा बढी मत प्राप्त गरी प्राप्त गरी प्रत्यक्षतर्फ कम्तीमा १ सिट ल्याउने दलले मात्र समानुपातिक कोटामा सिट पाउने व्यवस्था प्रस्ताव गरेको छ। प्रदेशसभामा भने कम्तीमा डेढ प्रतिशत मत ल्याउने दलले समानुपातिक सिट पाउने छन्। यसअघि नै संसदबाट पारित राजनीतिक दलसम्बन्धी ऐनमा थ्रेसहोल्डको व्यवस्था भए पनि तीन र डेढ प्रतिशतभन्दा कम मत ल्याउने दलले प्रतिनिधिसभा र प्रदेश सभामा प्रतिनिधित्व गर्न पाउनेरनपाउने प्रस्ट थिएन। मन्त्रिपरिषद्को सोमबारको बैठकले ३ प्रतिशतभन्दा बढी मत ल्याई प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको दलले प्रतिनिधिसभा र कम्तीमा डेढ प्रतिशत मत प्राप्त गर्ने दलले प्रदेश सभाको समानुपातिक सिटमा प्रतिनिधित्व गर्न पाउने प्रस्ट व्यवस्थासहितको दुई विधेयक अनुमोदन गरी संसदमा पेस गर्ने निर्णय गरेको हो। संसदमा दर्ता गराउन लागिएको निर्वाचनसम्बन्धी दुई छुट्टाछुट्टै विधेयकमा सरकारले संघीय संसद्मा भन्दा प्रदेशसभामा खुकुलो थ्रेसहोल्ड प्रस्ताव गरेको छ। विधेयकमा पहिलो पटक मतदातालाई सबै उम्मेदवार अस्वीकार गर्ने अधिकार राइट टू रिजेक्ट सुनिश्चित गरिएको छ।