न कुनै एजेन्डा छ न कुनै दृष्टिकोण ,कांग्रेस देखेर माया लाग्छ-प्रधानमन्त्री ओली



काठमाण्डौ ७ साउन।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई देख्दा आफूलाई माया लाग्ने बताएका छन्।

‘न कुनै एजेन्डा छ न कुनै दृष्टिकोण छ,’ राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘हजुरआमाहरूले भन्नुहुन्थ्यो तिमीहरूको उमेरमा त हामी उडेका चरा छोप्थ्यौं। कांग्रेस अहिले उडेका चरा छोप्ने अवस्था पार गरेर घाममा बसेर गफ गर्ने भएको छ। जुरूक्क उठ्न सक्दैन। कांग्रेस देखेर माया लाग्छ।’

उनले आफ्नो सम्बोधनको अधिकांश समय कांग्रेसलाई गाली गर्नमा खर्चिएका थिए।

अहिलेको हारबाट कांग्रेस आत्तिएको उल्लेख गर्दै उनले कांग्रेसले आफूहरूलाई लोकतन्त्रको पाठ सिकाउनु विचित्र भएको बताए।

‘हामी पनि प्रतिपक्षमा थियौं। ३३ सिट मात्र ल्याएका थियौं। तर हामीले धैर्यता गुमाएनौं। शालिन ढंगले जनताबिच जाने, नबुझेका कुरा बुझाउने काम गर्‍यौं। हिंसात्मक दमनको शान्तिपूर्ण प्रतिरोध गर्‍यौं।अहिले हाम्रो बहुमत आयो,’ प्रधानमन्त्रीले भने,‘कांग्रेसले जे गरे पनि लोकतन्त्र जसो गरे पनि लोकतन्त्र। आफू नभएपछि उसलाई अधिनायकवाद आयो।’

प्रधानमन्त्रीले २०४८ सालमा कांग्रेसको एकमना सरकारका पालामा आफूहरूमाथि पनि कांग्रेसले दमन गरेको बताए।

‘त्यसबेला एमालेका ३० हजार कार्यकर्तालाई मुद्दा लगायो। तीन वर्षमा ३० पल्ट म पक्राउ परें। सडकमा देख्नै नहुने,’ प्रधानमन्त्री ओलीले भने,‘तीन वर्षमा कांग्रेसले १२२ जनालाई गोली ठोक्यो।

राजमार्गमा भइरहेको साइकल र्‍यालीमा गोली चलायो। यस्तो थियो कांग्रेसको लोकतन्त्र।

त्यतिबेला आस्थाकै आधारमा हजारौं शिक्षक र कर्मचारी निष्काशित भएको उल्लेख गर्दै देश खाने काम कांग्रेसको मात्र भएको बताए।
प्रधानमन्त्रीले कांग्रेसमा उदारीकरण, बजारीकरणजस्ता मुद्दामा आफूलाई मात्र थाहा छ भन्ने भ्रम रहेको बताए।setopati

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्