प्रियासनको सेल्फी प्रकाशन हुँदै



सेल्फीको कभर पेज बन्यो

दाङ । पत्रकार एवं साहित्यकार सविन प्रियासनद्वारा लिखित सेल्फी उपन्यास प्रकाशन हुने भएको छ । इन्डिगो इन्क प्रकाशन प्रालि काठमाडौले सेल्फी उपन्यास प्रकाशन गर्न लागि रहेको छ ।
उपन्यासको कभर डिजाईन गरि सकिएको छ भने छाप्नको लागि प्रेसमा पठाइएको छ । साउनको अन्तिम साता बजारमा आउन लागि रहेको सेल्फी उपन्यासको लोकार्पण काठमाडौंमा गर्ने तयारी इन्डिगोले गरिरहेको छ । साहित्यकार प्रियासनको सेल्फी छैंठौं उपन्यास हो । यस अगाडी प्रियासनको सहनशीला, पल्लवी, पुनरागमन, भुमरी, रोदनपछिको.. उपन्यासहरु प्रकाशनमा छन् ।

प्रियासनको कथा संग्रह र पुस्तकपनि प्रकाशनमा छन् । एकपछि अर्को उपन्यास प्रकाशन गरिरहेका प्रियासनको पल्लवी र सहनशीला उपन्यास बजारमा अत्यधिक बिक्री हुने उपन्यासमा पर्दछन् । सत्य कथामा आधारित सेल्फी उपन्यासमा सामान्य अवस्थामा रहेको घरपरिवार र आम युवतीको कथा रहेको उपन्यासकार प्रियासनले जानकारी दिनुभयो । पत्रकारितामा समेत जिल्ला देखि केन्द्रीय तहसम्म उच्च स्थान बनाउनु भएका प्रियासन नेपाल पत्रकार महासंघ दाङको अध्यक्ष, प्रेस चौतारी नेपालको केन्द्रीय उपाध्यक्ष एवं पाँच नम्वर प्रदेशको प्रमुख हुनुहुन्छ ।

जिल्लाबाट निस्कने गणतन्त्र राष्ट्रिय दैनिकको प्रकाशक सम्पादक समेत रहनु भएका प्रियासनको संलग्नतामा विभिन्न अनलाइन पत्रिका पनि सञ्चालनमा छन् । राप्ती साहित्य परिषद्को केन्द्रीय महासचिव भएर जिम्मेवारी वहन गरिसक्नु भएका प्रियासनले यतिबेला ब्रेकअप डायरी नामक उपन्यास लेखि रहनुभएको छ । हरेक पटक फरक धारका विषय बस्तुहरु समावेश गर्दै उपन्यास निकालि रहनु भएका प्रियासनको सेल्फी उपन्यासले पनि सबैको मन जित्ने विश्वास प्रियासनको छ ।

‘सेल्फी उपन्यास संघर्ष र दरिलो आत्मविश्वास बोकेको घरपरिवारको कथा हो, यसले समाजमा सफल हुनका लागि निरन्तर अगाडी बढ्नुपर्छ, आफ्नो लागि आफैले सफलताको मार्ग बनाउन सकिन्छ भन्ने सन्देश दिनेछ’, प्रियासनले थप्नुभयो, ‘सफलता एकैपटक हात लाग्दैन, यसको लागि निरन्तर संघर्ष गर्नुपर्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्