सैघाली खबर, १३ साउन ।
मलेसियाका मानव संशाधन मन्त्रीले नेपाल सरकारलाई नेपाली कामदारलाई रोजगारीका लागि मलेसिया पठाउने विषयमा ‘नरम’ बन्न आग्रह गरेका छन् । मन्त्री एम. कुलासेगारानले मलेसियाका विभिन्न उद्योग तथा कम्पनी विदेशी कामदारमा आश्रित रहेको बताउँदै सो आग्रह गरेका हुन् ।
‘नेपालका कामदार यहाँ आउने अन्य संयन्त्रको पहिचान गर्ने प्रयास गर्नेछौँ । अन्यथा देशमा कामदारको संकट पर्नेछ र यसले विकासमा ठूलो धक्का लाग्नेछ,’ एक कम्पनीमा आयोजित कार्यक्रमपछि उनले भने । ‘हामीलाई आशा छ, यसबीच नेपालले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछ र नरम बन्नेछ,’ उनले भने ।
कुलासेगारानले तेस्रो पक्ष कम्पनी प्रयोग गरेर विदेशी कामदार छनौट गर्दा लाग्ने ठूलो रकम बारे आफू जानकार भएको पनि बताए । ‘यो सबै समस्या अघिल्लो सरकारका कारण आएको हो र हामी यसलाई समाधान कसरी गर्ने भन्ने विषयमा सोचिरहेका छौँ,’ उनले भने, ‘क्याबिनेटमा पनि यो विषयबारे छलफल भइसकेको र म आगामी हप्ता एउटा नयाँ प्रतिवेदन लेख्नेछु र तुरुन्त कार्यान्वयन गर्नेछु ।’
कुलासेगारानले यस विषयमा नेपाल सरकारका अधिकारीहरुसँग पनि निरन्तर छलफल भएको जानकारी दिए । उनले हाल लागु गरिएको तेस्रो पक्षलाई हटाएर सरकारदेखि सरकार (जिटुजी) प्रक्रियाबाट नेपाली कामदारलाई मलेसियामा रोजगारीको व्यवस्था मिलाउन मलेसिया सरकार तयार रहेको पनि बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।