राजनीतिक नेतृत्व पनि आर्थिक नियमभित्र बस्नुपर्छ – प्रम



काठमाडौँ, १५ साउन  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व पनि आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताउनुभएको छ ।

महालेखा परीक्षकको आर्थिक वर्ष २०७४/७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वले समेत सो विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

सरकारी कार्यालयमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीको भनाइ थियो । “के कारणले बेरुजु भएको हो ?”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो त्यसमा संलग्नलाई कानूनी कारवाही गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकाय र व्यक्तिले उन्मुक्ति नपाउने बताउनुभयो । बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगत्मा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाति होइन,” प्रधानमन्त्रीले भन्नुभयो, “तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यही विराम लगाउनुपर्छ ।”

बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले आव २०७४÷७५ मा रु ४८ अर्ब बेरुजु देखिएको जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र विभिन्न मन्त्रालयका सचिवको उपस्थिति थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्