सैघाली खबर, १६ साउन ।
विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आज विश्व स्तनपान दिवस मनाइँदै छ । ‘स्तनपान: जीवनको आधार’ भन्ने नारासहित साताव्यापी रूपमा यो दिवस मनाइँदै छ । शिशुलाई ६ महिनासम्म नियमित स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको हो ।
आमाको पहिलो दूध बच्चाका लागि अमृत समान हुने र यसले बच्चामा धेरै रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउने चिकित्सकहरु बताउँछन् । आमाको दूधमा रोगाणु नाशक तत्व हुन्छन् । तर अझै पनि यो चेतना नहुँदा बच्चा जन्मेपछि आउने पहिलो दूधलाई मिल्काउने गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले विश्वका धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक नरहेको जनाएको छ । संगठनले आमाको दूध बच्चालाई स्वस्थ राख्ने पहिलो खोप भएको जनाएको छ ।
बाल्यकालमा प्रशस्त मात्रामा आमाको दूध खान नपाएकालाई मधुमेह रोग लाग्ने सम्भावना रहन्छ । उनीहरूको वृत्तिविकाससमेत असर पर्दछ । चिकित्सकहरुले बालबालिकालाई स्वस्थ राख्न ६ देखि ८ महिनासम्म आमाको दूध उत्तम आहार हुने बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।