काठमाण्डौ १६ श्रावण । प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई नियुक्त गर्ने नगर्ने भन्ने विषयमा संसदीय सुनुवाइ समितिको बैठक बस्न सकेको छैन । शैक्षिक प्रमाणपत्र फर्जी भएको तथा उनले गरेको थुप्रै फैसलाहरू विवादास्पद रहेको लगायतका कारण देखाउँदै सत्तारूढ दल नेकपा जोशीलाई प्रधानन्यायाधीश बनाउन नहुने पक्षमा उभिएको छ भने प्रतिपक्षी दल कांग्रेस उनलाई प्रधानन्यायाधीश बनाउनु पर्नेमा अडानबाट टसकोमस गरेको छैन ।
बुधबार विहान प्रधानमन्त्री केपी ओलीलाई भेट्नका लागि सर्वोच्चका कायम मुकायम प्रधानन्यायाधीश जोशीले बालुवाटार पुगेका थिए । स्रोतका अनुसार ओलीले जोशीलाई राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाल वार एसोशिएसनमा रहेका कांग्रेस निकटस्थ पदाधीकारीबीच भेटवार्ता भइरहेको छ । बारका अध्यक्ष शेरबहादुर केसीलगायतका पदाधिकारीले जोशीलाई प्रधानन्यायाधीश बनाउन दबाब दिइरहेको स्रोतको दाबी छ । बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।