सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धान गर्न बनेको समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो



काठमाण्डौ १७ साउन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी हुने तस्करीको सुन र सनम शाक्य हत्या काण्ड छानबिन गर्न बनेको सरकारी विषेश समितिले अनुसन्धानको प्रतिवेदन सरकारलाई बुझाएको छ।

टोलीले विमानस्थलबाट हुने सुन तस्करीका साथै विभिन्न पक्षका सुधारका पाटालाई केलाएर सरकारलाई सुझावसहित छानबिन प्रतिबेदन बुझाएको हो ।

करिब ३ महिना लामो अनुसन्धानपछि तयार पारेको साढे ७ सय पृष्ठको प्रतिवेदन बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो।

प्रतिवेदन बुझाउन छानबिन टोलीका सदस्यसँगै गृहमन्त्री रामबहादुर थापा पनि बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने टोलीमा गृह सचिव, प्रहरी महानिरीक्षककोसमेत उपस्थिति थियो। प्रतिवेदनमा करिब ३ सय जनालाई शंकाको घेरामा राखेको छ।

उनीहरूलाई भोलिका दिनमा अनुसन्धान गर्नुपर्ने भन्दै टोलीले सरकारलाई सुझाएको प्रतिवेदनमा उल्लेख छ।

अनुसन्धान अवधिमा पक्राउ परेका आरोपीले बयानमा खुलाएका र उनीहरूसँगको व्यवसायीक साझेदारी र सञ्जालमा रहेकामाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै त्यही अनुसार प्रतिवेदनमा जनाइएको छ।

उच्च अनुसन्धान टोलीले भोलिका दिनमा तस्करी रोख्न र अवैध कामहरु बन्द गर्न प्रधानमन्त्री कार्यालय वा गृह मन्त्रालयले स्थायी प्रकृतिको टोली बनाएर अनुसन्धान गर्न समेत सुझाव दिएको छ।

प्रतिवेदनमा टोलीले अनुसन्धान सुरु भएदेखि हालसम्म गरिएको कारबाहीको सम्पूर्ण विवरण समावेश छ।

गत माघ ९ गते युएईबाट त्रिभुवन विमानस्थलहुँदै बाहिरिएको साढे ३३ किलो सुन हराएपछि सुन लुकाएको आशंकामा चुडामणि उप्रेती ‘गोरे’ को समूहले सुन लुकाएको आशंकामा फागुन १८ गते सनम शाक्यलाई यातना दिएर हत्या गरेका थिए ।

उनलाई करेन्ट लगाएर यातना दिने क्रममा मृत्यु भएको थियो ।

त्यही हत्याकाण्डको अनुसन्धान गर्न २०७४ चैत २० को मन्त्रिपरिषद्को बैठकले छानबिनका लागि बिशेष टोली गठन गरेको थियो।

गृह सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको टोलीले अनुसन्धान गर्दै जाँदा सुन तस्करीको पोल खुलेको थियो।

मोरङ उर्लाबारीका सनम शाक्यको हत्यापछि गोरेलाई बचाउन भूमिका खेलेको भन्दै तत्कालीन अपराध महाशाखाका एसएसपी दिवेश लोहनी, श्याम खत्री, एसपी विकासराज खनाल, डीएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल र पूर्वडीआईजी गोविन्द निरौला लगायतका प्रहरी अनुसन्धानमा तानिएका थिए। उनीहरु सबै पूर्पक्षका लागि कारागार चलान भएका छन्।

यीबाहेक गोरे, भुजुङ गुरुङ, छिरिङ वाङदेल लगायत ३१ जनाबढी पूर्पक्षका लागि जेलमा छन् ।

प्रतिवेदनमा भुजुङ गुरुङ, गोरे, रमेश उप्रेती, बेनु श्रेष्ठ, मोहन काफ्ले, टेकराज मल्ल, मोहनकुमार अग्रवाल, छिरिङ वाङ्गेल घले, महावीरप्रसाद गोल्यान नै सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके भएको दाबी प्रतिवेदनमा गरिएको छ ।

समितिको निर्देशनमा ७५ जना विरूद्धको मुद्दा अदालतमा बुझाएको छ। जसमध्ये ४५ जना पक्राउ परेका छन्, बाँकीले जिल्ला अदालत मोरङको म्याद बुझेका छन्।

तर समितिमा बयान दिने क्रममा उच्च तहको मिलेमतोको आशंका गरिएको भए पनि प्रमाण नपुगेको भन्दै केही राजनीतिक दलका नेतालाई समितिले सफाइ दिएको स्रोतको दाबी छ। तर, नामहरु प्रतिवेदनमा उल्लेख गरिएको भए पनि अहिले नै सार्वजनिक गर्न नमिल्ने समितिका सदस्यले भने।

योबाहेक नेपालमा अन्य पनि सुन तस्करी गर्ने गिरोह रहेको हुनसक्ने टोलीको दाबी छ। टोलीलाई सनम शाक्यको हत्याको अनुसन्धान गर्ने जिम्मा मात्रै दिएकाले टोलीले त्यही सेरोफेरोमा रहेर घटनाको अनुसन्धान गरेको थियो।

यस्तै सुन लगानीकर्ता भनिएका एमके अग्रवाललगायत फरार अभियुक्तको खोजी कार्य जारी छ।

जिल्ला प्रहरी कार्यालय मोरङले सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा ६३ जनामाथि मुद्दा चलाएको थियो । हालसम्म यो प्रकरणमा ४५ जना पक्राउ परेका छन् ।setopati

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्