सरकारलाई आर्थिक र राजनीतिक रुपान्तरण गर्न समय दिनुपर्ने -अध्यक्ष थापा



विराटनगर, १७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि आज पत्रकारसँगको भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले जनदबाब सिर्जना गर्न र सडकमा संघर्ष गर्ने अवस्था आउन नदिनेतर्फ सरकार गम्भीर हुनुपर्छ भन्दै संसद्मा अवरोध र सडक संघर्ष गरेर मुलुकको समस्या समाधान नहुने विचार व्यक्त गर्नुभयो ।

अध्यक्ष थापाले नेपाली काँग्रेसलाई पराजयको हतास मानसिकता त्याग्न आग्रह गर्दै संसद् र न्यायपालिका पार्टीको बन्धक नबनोस् भन्नुभयो ।

अध्यक्ष थापाले देश संघीय संरचनामा प्रवेश गरिसकेपछि आफ्नो पार्टी पनि सोहीअनुसार अघि बढ्ने भन्दै हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र हाम्रो पार्टीको उच्च प्राथमिकता हो भन्नुभयो ।
–––

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्