आदर्श केसी
रुकुम २९ असार । सशस्त्र द्वन्द्वको उद्गमथलो रुकुमले कृषि उत्पादनमा फड्को मारी तरकारीको विऊ निर्यात गर्ने जिल्लाको पहिचान बनाएको छ । जिल्लामा बर्षेनी लाखौ रुपैयाँको तरकारी र बीऊ उत्पादन भएपछि आम्दानी बढ्नुका साथै रुकुमलाई चिन्ने नयाँ पहिचान थपिएको हो ।
रुकुमको मुसिकोटमा रहेको समसितोष्ण तरकारी बीऊ उत्पादन केन्द्रबाट वर्षमा १५ देखि २० लाख रुपैयाँको विऊ उत्पादन हुनेकार्यालयले जनाएको छ । करिब ६ हजार हेक्टर जमिनमा बिभिन्न जातका तरकारीहरुको नर्सरी तयार गरी केन्द्रले बीऊ उत्पादन गरी किसानलाई सहुलियतमा बिक्री गर्दै आएको छ ।
२०३५ सालमा स्थापना भएको बिऊ उत्पादन केन्द्रले उत्पादन गरेको विऊ बिदेशमा राम्रो चर्चा पाएपनि सशस्त्र द्वन्द्वको कारण केही समय बिदेश निर्यात समेत सुस्ताएको थियो । हिजोआज फेरि निर्यात हुन थालेको केन्द्रले जनाएको छ ।
केन्द्रमा बिभिन्न जातका १६ थरी तरकारीको बिऊ उत्पादन गरी राप्ती अञ्चलका पाँच जिल्ला र अन्य स्थानहरुमा बितरण गरिदै आएको छ । केन्द्रले मुला, काउली, प्याज, सलगम, रायो, केराउ, झाँगे सिमी, लहरे सिमी, स्क्वास, फर्सी, टमाटर, भेडेखुर्सानीका गरी प्रतिबर्ष साँढे २ टन उत्पादन गर्दै आएको छ ।
केन्द्र वरपरका छिवाङ, खलङ्गा, सिम्ली, बिजयश्वरी, कोटजहारी, खोलागाउँ, नुवाकोट, पेउघा लगायतका दर्जन बढी गाबिसका किसानहरु पनि ब्यवसायिक रुपमा तरकारी बीऊ उत्पादनमा लागेका छन् ।
जिल्लाका दश ठाउँमा तरकारी बीऊ बिक्रि बितरण केन्द्रहरु समेत किसानहरुले नै स्थापना गरेका छन् । पछिल्लो समयमा जिल्लामा ब्यवसायिक रुपमा विऊ उत्पादन बढ्न थालेको कृषि बिकास कार्यालयले जनाएको छ । । तरकारीको बीऊबाट रुकुममा वर्षमा १ करोड रुपैयाँ भन्दा बढी भित्रने अनुमान छ ।
तरकारीको विऊसंगै सुन्तला, स्याउ केरा, हलुवावेद, नास्पति लगायतका फलफूल खेती विस्तार गर्न सकिने प्रवल सम्भावना रहेको कृषि कार्यालयले बताएको छ । मौरीपालन, अदुवा, टिम्मुर खेतको सम्भावना पनि उत्तिकै छ । जटीबुटी उत्पादनका लागि पनि रुकुम महत्वपूर्ण छ ।
यार्सागुम्बा, पाँचऔले, चिराईतो, जटामसी, तितेपाती, कुरिलो, लगायतका बहुमुल्य जडिबुटी पनि उत्पादनको संभावना पनि धेरै रहेको कृषि कार्यालयले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।