काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ ५ भित्र सबै तहका कमिटीको एकता टुंगाे लगाउने बाताएका छन्। बिहीबार अध्यक्ष प्रचण्डले २१अौँ तुलसीलाल स्मृति दिवसको सन्दर्भ पारेर काठमाडौंमा आयोजना गरिएकाे कार्यक्रममा यस्ताे बताएका हुन्।
नेपालको राजनीतिमा तुलसीलाल अमात्यको योगदानबारे धारणा राख्दै पार्टी एकता नेपालमा २१अौँ शताब्दीमा घटेको दूरगामी महत्त्वको असाधारण परिघटना भएको उनले बताए। उनले भने, ‘यो विश्वव्यापी महत्त्वको कदम हो।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्षबाट यसलाई सफल हुन नदिने अनेक खेल भएका भए पनि भविष्यमा झन सशक्त भएर जाने उनको दाबी थियो। ‘यसबाट हामी सचेत बन्नुपर्नेछ। दुनियाँले हामीबाट ठूलो अपेक्षा गरेको छ।
आज सर्कुलर गरेका छौँ। यो महिनाभित्र सबै कमिटी प्रदेश, जिल्ला, स्थानीय कमिटीको एकता टुंग्याउँछौँ’, उनले भने। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘आसन ग्रहण परिवर्तन गरौँ, यस्तो लम्बेतान गर्न छोडौँ’ बताउँदै भने, ‘१५ मिनेट बस्ने हो, नभए हिँड्ने हो। ठूलो परिवर्तनको कुरा गर्छौं, यही सानो कुरा पनि परिवर्तन गर्न सकेनौँ भने कसरी परिवर्तन हुन्छ?’ पार्टी विधि र पद्धति, संस्थागत, सामूहिक ढंगले चलाउनुपर्ने बताउँदै उनले भने, ‘गुटले कहिल्यै पार्टी बन्दैन, गुटबन्दी बन्द गर्नुपर्छ। सबै नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिनुपर्छ। एकताले मात्रै सक्रियता बढ्दैन।’
पार्टीभित्र चारित्रिक, भ्रष्टीकरण रहेको र यसलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो। ‘पार्टी सुदृढीकरणमा लैजानुपर्छ। यो सरकारलाई हरहालतमा सफल बनाउनुपर्छ किनभने यो सरकारलाई असफल हुने छुट छैन।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।