सभामुखले बाेल्न समय नदिएपछि कांग्रेसले गर्‍यो संसद बहिष्कार



काठमाडौं : सभामुख कृष्णबहादुर महरासँग पटकपटक बोल्न समय माग्दा पनि नदिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। कांग्रेस सांसद मिनेन्द्र रिजालले गृहमन्त्रीले बलात्कारका घटनाका विषयमा आफ्नो भनाइ राखेपछि पटकपटक प्रतिप्रश्न गर्न समय मागेका थिए।  तर सभामुख महराले समय नदिएपछि कांग्रेस सांसद आक्रोशित बनेका थिए।

‘आज समय छैन, मन्त्रीजीलाई बोल्न दिनुहोस्’, कांग्रेस सांसदलाई परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीअघि बोल्न रोक्दै सभामुख महराले भने। ज्ञवालीले पोर्चुगल भ्रमणको जानकारी गराएलगत्तै सभामुख महराले अर्थमन्त्री डा. युवराज खतिवडालाई बोल्ने समय दिए।

अर्थमन्त्रीलाई बोल्न समय दिएलगत्तै फेरि कांग्रेस सांसद रिजालले सभामुखसँग समय माग गरे। तर फेरि पनि सभामुखले समय नदिएपछि कांग्रेस सांसदले बैठक बहिष्कार गरेका हुन्। कांग्रेस सांसदले बैठक बहिष्कार गरे पनि अर्थमन्त्री खतिवडाले संसदमा प्रस्तुत गरेको बिमा विधेयकलाई बहुमतले पारित  भएको छ।

बिमा विधेयक पारित भएलगत्तै सांसद बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्