सातै प्रदेशमा एक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारकाे घोषणा



अच्युत पुरी,
काठमाण्डौ १८ साउन।
पर्यटनका पाँचवर्षे योजना

सरकारले सबै प्रदेशमा कम्तीमा एक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको विकासमा अपनाइने पाँचवर्षे कार्यदिशामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यक्रम समेटेको हो । अहिले प्रदेश ३ मा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छ । प्रदेश ४ मा पोखरा विमानस्थल निर्माणाधीन अवस्थामा छ भने प्रदेश ५ को भैरहवामा पनि गौतमबुद्ध विमानस्थल बनिरहेको छ ।सरकारले बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया सुरु गरिसकेको छ । यसबाहेक प्रदेश १ को विराटनगर र प्रदेश ७ को धनगढी विमानस्थललाई पनि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा स्तरोन्नति गर्ने पर्यटन मन्त्रालयको योजना छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार अर्थमन्त्री डा। युवराज खतिवडा, उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणि खनालसहित सातवटै प्रदेशका पर्यटनमन्त्रीसमेतको उपस्थितिमा पाँचवर्षे कार्ययोजना सार्वजनिक गरेका हुन् । पाँचवर्षे अवधिमा निजगढ विमानस्थलको निर्माण ५० प्रतिशत पूरा भइसक्ने सरकारको घोषणा छ ।

वार्षिक २५ लाख पर्यटकको लक्ष्य
मन्त्रालयको पाँचवर्षे योजनाले आगामी ५ वर्षभित्र वार्षिक २५ लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ । सन् २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्यसहित सरकारले भिजिट नेपाल २०२० मनाउँदै छ । मन्त्रालयको पाँचवर्षे योजनाअनुसार नयाँ गन्तव्य तयार भई पर्यटकीय आकर्षणको केन्द्र बन्ने मन्त्रालयले उल्लेख गरेको छ । यस अवधिमा मन्त्रालयले प्रदेश र स्थानीय तहसँग समन्वय गरेरै पर्यटन प्रवद्र्धन र विकासका कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।

यस अवधिमा सरकारले पर्यटन क्षेत्रको विकासलाई आवश्यक कानुनी पाटोमा गर्नुपर्ने काम सम्पन्न हुने बताएको छ । आवश्यकताअनुसार ऐनकानुन निर्माण, संशोधन तथा पुनरावलोकन यस अवधिमा हुनेछन् ।

सरकारको प्राथमिकता पर्यटन नै हो स् अर्थमन्त्री
अर्थमन्त्री डा। युवराज खतिवडाले सरकारको प्राथमिकता पर्यटन क्षेत्रको विकासमा रहेको भन्दै यसका लागि अनुकूल वातावरण मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्थतन्त्रमा कृषिबाट भन्दा उद्योग र पर्यटन क्षेत्रबाट ठूलो योगदान पुग्ने सम्भावना रहेको भन्दै यसका लागि मुलुकको आन्तरिक उत्पादन क्षमतालाई भने बढाउनुपर्ने बताए । ‘हामीले घोषणापत्रमार्फत १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने भनेका छौँ,’ उनले भने, ‘यो सम्भव छ, तर जति पर्यटक आए पनि स्वदेशी सेवा र उत्पादन सक्षम नभएसम्म कमाएको सबै पैसा आयातका लागि बाहिरिन्छ ।’

सेवा र उत्पादनको ‘भ्यालुएड’ नगरेसम्म जति पर्यटक आए पनि त्यसबाट मुलुकले लाभ लिन नसक्ने उनको भनाइ छ । पर्यटक वृद्धि गर्न भने ठूलो जनसंख्या रहेको भारत र चीनमै केन्द्रित हुनुपर्ने उनले बताए । अगाडि बढेका पूर्वाधार आयोजनाको समयमै कार्यान्वयनले पनि पर्यटनमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । उद्योगमन्त्री मातृका यादवले पर्यटकीय संस्कृतिको विकास र पूर्वाधार निर्माण नभएसम्म पर्यटन क्षेत्रको विकास अपेक्षित अगाडि बढ्न नसक्ने बताए ।

प्रतिफल के 
(पर्यटनले कुल गार्हस्थ उत्पादनमा १० प्रतिशत योगदान
(प्रत्यक्ष वैदेशिक लगानी आकर्षित हुने मुख्य क्षेत्र
(प्रतिवर्ष २५ लाख पर्यटक आगमन

पर्यटनमा पाँच वर्षभित्र के हुनेछ 

(त्रिभुवन विमानस्थलमा उडान र जहाज पार्किङ क्षमता दोब्बर
(नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय हवाई व्यापारको ६० प्रतिशत हिस्सा ओगट्ने
(पशुपतिनाथमा दैनिक २० लाख दर्शनार्थीले सहज दर्शन गर्न सक्ने
(भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा
(निजगढ विमानस्थलको निर्माण ५० प्रतिशत सम्पन्न
(लुम्बिनी गुरुयोजना सम्पन्न गरि बहुआयामिक विकास गरिने
(से–फोक्सुन्डो–रारा–बडीमालिका–खप्तड जोड्ने पदमार्ग निर्माण
(प्रत्येक प्रदेशमा कम्तीमा एक प्रादेशिक संग्रहालय निर्माण
(सबै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन हुने
(प्रमुख राजमार्ग र पर्यटन मार्गमा शौचालय, भोजनगृह, विश्रामस्थल तथा आधुनिक बसपार्क निर्माण
(सय नयाँ पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन गरी आन्तरिक र बाह्य पर्यटक आगमन बढ्ने
(सातै प्रदेशमा एउटा अन्तर्राष्ट्रियस्तर अन्तर्राष्ट्रिय विमानस्थल
(प्रयोगमा नआएका विमानस्थलमा एयर स्पोर्टस् गतिविधि सञ्चालन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्