दुई सचिवका लागि छ जनाको सिफारिस



सागर पण्डि ,काठमाडौं  : सचिव बढुवा सिफारिस समितिले रिक्त रहेको दुई सचिव पदमा बढुवाको लागि ६ जना वरिष्ठ सहसचिवको नाम सरकार समक्ष सिफारिस गरेको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको सचिव वढुवा सिफारिस समितिको बैठकले रिक्त दुई सचिवका लागि वरिष्ठ सहसचिवबाट ६ जनाको नाम सिफारिस गरेको सचिवालय स्रोतले जानकारी दिएको छ ।

सिफारिस भएका वरिष्ठ सहसचिवमा तीर्थराज ढकाल, आनन्दराज ढकाल, केदारप्रसाद न्यौपाने, दिपक सुवेदी , चन्द्रमान श्रेष्ठ र सूर्य गौतम रहेका छन् । निजामती सेवा ऐन अनुसार सचिवमा रिक्त रहेको पद मध्ये ८० प्रतिशत पदमा कार्यसम्पादन मूल्याङकनको आधारमा सबैभन्दा बढी अंक प्राप्त सम्वन्धित सेवाका सम्भाव्य उम्मेदवार मध्येबाट उपलब्ध भएसम्म रिक्त पदको तेब्बर संख्यामा सिफारिस गर्नुपर्ने प्रावधान छ ।

सोही प्रावधान अनुसार बढुवा सिफारिस समितिले ६ जनाको नाम सिफारिस गरेको हो ।  शुक्रबार बस्ने मन्त्रिपरिषद् वैठकले सिफारिस भएका ६ जनामध्ये २ जनालाई सचिवका लागि बढुवा गर्ने जनाइएको छ ।

यस अघि बढुवा सिफारिस समितिले योग्य रहेका वरिष्ठ सहसचिवको बारेमा विस्तृत छानवीन गरेको थियो । कार्यसम्पादन मूल्याङ्कन काटिएको वा उनीहरुको कार्यसम्पादन सन्तोषजनक भए नभएको बारेमा समेत अध्ययन गरिएको थियो ।

केही दिनअघि मात्रै शंकरप्रसाद कोइराला, शंकर अधिकारी , ङईन्द्र प्रसाद उपाध्याय लगायतका सचिव  सेवानिवृत्त भएका छन् । हाल प्रदेश नं १ र प्रदेश नं ५ मा सचिव पद रिक्त छ । सोही पदका लागि नै सचिवको बढुवा गर्न लागिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्