नेकपा भ्रातृ संस्था एकीकरण – निर्णय कुर्दै कार्यदल



५ भदौभित्र सबै एकीकरण गरिसक्ने तयारी

रामकृष्ण अधिकारी,

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी तथा जनसंगठनको एकता ५ भदौभित्रै गर्ने तयारी थालेको छ। प्रदेश, जिल्ला तथा जनसंगठनको एकता गृहकार्यका लागि गठित कार्यदललाई ५ भदौभित्र एकीकरणको काम सक्न नेकपाका अध्यक्षद्वयले निर्देशन दिएका छन्। साउन २५ भित्रै कार्यदललाई आफ्नो प्रतिवेदन पार्टीको केन्द्रीय सचिवालयमा बुझाउन, ५ भदौभित्र प्रदेश तथा जिल्ला र जनसंगठनको केन्द्रीय समितिको एकीकरण सक्न र १५ भदौभित्रै एकीकरण भएका सबै कमिटीको पहिलो बैठक सक्ने गरी कार्ययोजना तयार पार्न नेकपाले कार्यदलमा आन्तरिक सर्कुलर गरेको छ।

नेकपाले एकीकरण गर्ने जनसंगठनको कुल संख्याको एकतिहाइ सचिवालय र बढीमा ९ सदस्यीय मात्र केन्द्रीय कार्यालय बनाउन पनि निर्देशन दिएको छ। पार्टी निर्देशनअनुसार जनसंगठन तथा पार्टीका प्रदेश तथा जिल्ला संगठन समितिको एकीकरणका लागि गठित कार्यदल र त्यसअन्तर्गतका उपसमितिले अहिले आफ्नो कामलाई तीव्र बनाएका छन्।

 

निर्णय कुर्दै कार्यदल

जनसंगठनहरूको एकीकरण गर्न गठित कार्यदलले एकता घोषणाको अन्तिम तयारीका लागि पार्टी नेतृत्वको निर्णय पर्खन थालेका छन्। कतिपय जनसंगठन एकताका लागि गठित कार्यदलले एकीकृत संगठनको नाम, कमिटीको आकार, झण्डा, स्थापना मितिलगायतका विषय अन्तिम चरणमा पुर्‍याए पनि एकीकृृत संगठनको नेतृत्वका विषयमा भने कार्यदलमा छलफलसमेत हुन सकेको छैन।

२२ जनसंगठनमध्ये एउटा पेसागत संगठन इन्जिनियरिङतर्फको मात्र अहिलेसम्म एकता गरेको नेकपाका भ्रातृसंगठनहरूले संगठनको नेतृत्व भने पार्टीका दुई अध्यक्षले नै टुंगो लगाइदिनुपर्ने गरी पार्टी नेतृत्वको निर्णय पर्खिन थालेको नेताहरूले बताएका छन्। सकभर संगठनको नेतृत्वसहितका सबै विषय सहमतिका आधारमा टुंगो लगाउने कार्यदेश पाएको कार्यदलले अन्य विषय टुग्याउँदै लगे पनि नेतृत्वका विषयमा छलफल नै नगरेको महिला संगठनको एकताका लागि गठित कार्यदलमा रहेका नेकपा केन्द्रीय सदस्य उर्मिला अर्यालले बताइन्।

‘हामीले विधान, प्रतिवेदन करिब टुंगो लगाइसकेका छौं’, अर्यालले भनिन्, ‘तर संगठनको नेतृत्वका विषयमा दुई अध्यक्षले निर्णय लिएअनुसार हुने गरी हामी नेतृत्वको निर्णय पर्खेर बसेका छौं।’ अब संगठनको नेतृत्वका विषयमा भने दुई अध्यक्ष (ओली–दाहाल)ले नै निर्णय लिनेछन्। जनसंगठनको नेतृत्वपूर्व पार्टी (एमाले वा माओवादीतर्फका मध्ये कसले लिने) भन्नेमा नेतृत्वले टुंग्याउनुपर्ने भएको हो। नेकपाले पार्टीका २२ वटा जनसंगठन बनाउने गरी एकता कार्यदल गठन गरेको छ।

जनसंगठनमा अध्यक्ष र महासचिव रहने गरी अन्य विषय टुंगो लगाउन नेतृत्वले कार्यदल नेताहरूलाई निर्देशन दिएका थिए। अध्यक्ष र महासचिव पूर्ववत् समूह (एमाले–माओवादी)का ले भागबन्डा लगाउनेछन्। आपसी समझदारीका आधारमा थप पदाधिकारीसमेत राख्न पाउनेछन्। त्यसो हुँदा त्यसमा पनि भागबन्डा लगाउने तयारी छ। नेकपा केन्द्रीय सदस्य तथा किसान महासंघ एकता गर्न गठित कार्यदलका सदस्य केशवलाल श्रेष्ठले पनि संगठनको नेतृत्वको विषयबाहेक अन्य सवै विषय टुंगो लागिसकेको बताए।

‘हामीले विधानमै संगठनको अध्यक्ष, सहअध्यक्ष, सचिव र कोषाध्यक्ष रहने गरी चार सदस्यीय पदाधिकारी, सातै प्रदेशमा इन्चार्ज र सहइन्चार्जसहितको १८ सदस्यीय स्थायी समिति, ३ सय ५० सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय लिइसकेका छौं’,        श्रेष्ठले भने, ‘तर मुख्य नेतृत्व कुन पक्षका कसले गर्ने भन्ने मात्र टुंग्याउन बाँकी छ। त्यो पार्टीका शीर्ष नेतृत्वको निर्णयका आधारमा हुन्छ।’

पार्टी नेतृत्वले निर्णय दिएमा जनसांस्कृतिक महासंघले भने ३१ साउनमा एकता गर्ने गरी आन्तरिक तयारी गरेको कार्यदलका सदस्य सरल सहयात्रीले बताए। ‘हामी सबै काम सकेर पार्टी माथिल्लो कमिटीको निर्णय पर्खेर बसेका छौं’, उनले भने।

खासगरी विद्यार्थी, युवा, मजदुर, महिला, किसान महासंघलगायत जनसंगठनको नेतृत्वमा दुवै पूर्ववत् समूहले आआफ्नो नेतृत्व स्थापित गराउन लबिङ सुरु गरेका छन्। नेतृत्वका विषयमा छलफल गर्दा विवाद निम्तने देखेपछि यस विषयमा छलफल नै नगरी नेतृत्वलाई नै भागबन्डाको जिम्मा दिने तयारी भएको नेत्री अर्यालले बताइन्।

 

२५ पछि निर्णय लिइने

नेकपाका जनसंगठनको नेतृत्वका विषयमा भने पार्टी नेतृत्वले २५ साउनपछि मात्रै निर्णय लिने भएको छ। जनसंगठनको एकता कार्यदललाई २५ साउनभित्र आआफनो प्रतिवेदन पार्टी सचिवालयमा बुझाउन निर्देशन भएकाले प्रतिवेदन प्राप्त भइसकेपछि जनसंगठनको नेतृत्व भागबन्डाको टुंगो लगाउने नेकपाको तयारी छ। ‘पहिले प्रतिवेदन आउँछन्, त्यसपछि मिलाउनपर्ने, टुंग्याउनुपर्ने विषयको टुंगो लगाएर ५ भदौभित्रै एकता गरिसक्न पार्टीले निर्देशन दिन्छ’, नेकपाका एक सचिवालय सदस्यले भने।

नेकपाले मुख्य संगठनहरूमा आपसी समझदारीका आधारमा बाँडफाँट गर्ने योजना बनाएको छ। ‘प्रभावशाली संगठनहरूको एकअर्काेमा सन्तुलन मिलाएर नेतृत्व बाँडफाँट हुन्छन्, युवा–विद्यार्थीमध्ये एकएक वटा पूर्ववत् घटकबीच बाँडफाँट गर्ने गरी योजना बन्छन्’, ती नेताले भने।

 

कुन संगठनमा के भइरहेको छ ?     

– युवामा ९९ सदस्यीय केन्द्रीय समिति बन्ने। नाम, झण्डा, स्थापना मिति टुंगिन बाँकी

– मजदुरमा जिफन्टका विनोद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय एकता संयोजन समिति गठन, अन्य काम बाँकी

– इन्जिनियरिङ एकताको काम सम्पन्न। शम्भुबहादुर श्रेष्ठ अध्यक्ष र डा. हरिराम पराजुली महासचिव रहेको ९५ सदस्यीय केन्द्रीय समिति गठन

– किसानमा एकतापछि अखिल नेपाल किसान महासंघ नाम राख्ने

–चार सदस्यीय पदाधिकारी, १८ सदस्यीय स्थायी समिति र दुवैतर्फका १७५–१७५ जना रहने गरी ३ सय ५० सदस्यीय केन्द्रीय समिति बनाउने

– महिलामा जम्बो ४ सय ९९ सदस्यीयसम्मको केन्द्रीय समिति बनाउने तयारी

– विद्यार्थीमा तीन उपसमिति गठन गरेर विधान प्रतिवेदन लेखिँदै। अन्य काम प्रारम्भिक छलफलमा

– सांस्कृतिककर्मीमा जनसांस्कृतिक महासंघ नेपाल नाम राख्ने, ९९ सदस्यीय केन्द्रीय समिति बन्ने, सात वटा आंगिक संगठन हुने। ३१ साउनमा एकता घोषणा तयारी

– पत्रकारमा प्रेस संगठन नेपाल नाम राख्ने, २ सय २५ सदस्यीय केन्द्रीय समिति बन्ने, १ सय २० चौतारी र १ सय ५ सेन्टरबाट रहने

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्