इटहरी, १९ साउन राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले जनउत्तरदायी एवं लोकतान्त्रिक शासन प्रणाली प्रवद्र्धनका लागि हरेक नागरिकले सूचनाको हकलाई पारदर्शी ढंगले प्राप्त गर्नसक्ने वातावरण हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रिय सूचना आयोगले प्रदेश नं. १ स्तरीय स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतका लागि आज इटहरीमा आयोजना गरेको ‘सूचनाको हक’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले नागरिकले प्राप्त गर्नुपर्ने सार्वजनिक सरोकार र जनचासोका सवालमा जिम्मेवार भएर सूचना अधिकारीमार्फत हरेक तीन महिनामा जानकारी गराउन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
आयोगका आयुक्त किरण पोख्रेलले सूचनाको हकको प्रभावकारी कार्यान्वयनबाट सरकार जनताप्रति अझ बढी जिम्मेवार बन्ने हुँदा यसको सदुपयोग गर्न सबैमा आग्रह गर्नुभयो ।
अर्का आयुक्त यशोदा तिम्सिनाले जनमैत्री सरकार निर्माणका लागि सूचनाको हकलाई व्यवहारिक रुपमा नै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, सुनसरी जिल्ला समन्वय समितिका अध्यक्ष गोपाल राजभण्डारी, सुनसरीका प्रमु्ख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र सूचना आयोगका सचिव मणिराम ओझालगायतले सूचनाको हकका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।