तुलसीपुरमा रहेको विमानस्थल सञ्चालन गर्न कार्यदल गठन



दाङ असार २९ । तुलसीपुर उपमहानगरपालिकाले एक सय दिनभित्र विमानस्थल सञ्चालनका लागि प्रक्रिया अघि बढाउन कार्यदल गठन गरे को छ । अवरुद्ध टरिगाँऊ विमानस्थल सञ्चालनका लागि नगर प्रमुख घनश्याम पाण्डे को संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा ५, ६, ७ र १२ नं. वडाका अध्यक्ष र तुलसीपुर उद्योग वाणिज्य संघका प्रतिनिधि सदस्य रहने छन ।

कार्यदलले एक सय दिनभित्र अवरुद्ध टरिगाऊ विमानस्थल सञ्चालन गर्न प्रकृया आगाढि बढाउने छ । त्यसैगरी साउन २५ गते नगरसभा गर्ने तयारी गरेको उपमहानगरपालिकाले नगर प्रमुखकै संयोजकत्वमा बजेट निर्धारण समिति गठन गरेको छ । जसको सदस्यमा नवराज लामिछाने, वेद बहादुर के सी, टोपबहादुर के सी, कुमार लामिछाने , माधव ओली र एकजना महिला पछि थप्ने गरी बजेट निर्धारण समिति गठन गरिएको छ

 

स्थापनाको ६१ वर्ष 
विमानस्थलले ३६ बिघा ओगटेको छ । २३ मंसिर ०११ मा पहिलो पटक जहाज अवतरण भएको थियो । निर्माणको पहल स्थानीय अगुवा झग्गुप्रसाद आचार्यले गरेका थिए । त्यसपछिका केही साताका तीन दिन सेवा सुचारु रह्यो । काठमाडौंबाट दाङको टिकट लिएका यात्रुले रुकुमको चौरजहारी हुँदै उक्त विमानस्थलमा अवतरण गर्नुपथ्र्यो । या नेपालगन्जबाट दाङ हुँदै जहाज काठमाडौं पुग्थ्यो ।

तर, लामो समय टिकेन । शुरुमा कच्ची धावन मार्गको बहानामा नेपाल वायुसेवा निगमले जहाज उडान/अवतरण गराएन । चार वर्षअघि कालोपत्रे सकिएपछि पनि सुचारु हुन सकेको छैन । कालोपत्रे भएपछि तारा एयरले सातामा एक दिन सेवा दियो । तर, त्यसले पनि केही महिना मात्र सेवा उपलब्ध गरायो । स्थानीय बासिन्दा भन्ने गर्छन्, ‘जहाज चढ्ने त टाढाको कुरा, हेर्न पनि पाइएको छैन ।’

टरिगाउँका पुण्य उपाध्यायलाई धावनमार्ग कालोपत्रे हुँदै गर्दा नियमित हवाई सेवा सञ्चालन हुने आशा जागेको थियो । यद्यपि, उनको आशा धावनमार्ग हेर्नमै सीमित बनेको छ । जिल्लाका सामाजिक र व्यावसायिक संस्थाहरूले नियमित उडान सञ्चालनका लागि पहल र दबाब दिन छाडेका छैनन् । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विमल रिजाल भन्छन्, ‘सबै सरोकारवाला एकीकृत भएर नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूलाई पटक–पटक पत्राचार र भेटघाट गरिरहेका छौं । तर, सुनुवाई भएको छैन ।’

संघका महासचिव नेत्रलाल ओली पूर्वाधार तयार भएको लामो समयसम्म पनि सञ्चालनमा नआउनु राज्यकै बेइज्जती भएको बताउँछन् । ‘यो एयरपोर्ट मध्यपश्चिमको व्यावसायिक तथा व्यापारिक ट्रान्जिट प्वाइन्ट हो । त्यसैले, यथाशीघ्र सञ्चालनका लागि राज्यले विशेष ध्यान दिनु पर्छ,’ ओली भन्छन् ।

कालोपत्रेमा नौ करोड
सात सय ६० मिटर लामो धावनमार्ग कालोपत्रे भएको हो । त्यसका लागि आठ करोड ८७ लाख रुपैयाँ खर्च भएको थियो । तत्कालीन पर्यटन मन्त्री लोकेन्द्र विष्टमगरको विशेष पहल थियो, त्यसमा । कालोपत्रेसँगै आवश्यक भौैतिक संरचनासमेत निर्माण भएका छन् । विमानस्थल सञ्चालन नहुँदा जिल्लावासीले एक सय २६ किमि टाढा नेपालगन्ज या एक सय ९४ किमि दूरीको भैरहवा पुग्नुपर्छ । कालोपत्रे हुँदै गर्दा तुलसीपुर ५ का काशी शर्मालाई जीवनमा एक पटक भए पनि जहाज चढ्ने धोको थियो । भन्छन्, ‘तर, सपना पूरा होलाजस्तो छैन ।’

 

हवाई सेवा नियमित सञ्चालनका लागि स्थानीयस्तरबाट भएका प्रयास सफल हुन सकेका छैनन् । ५ पुस ०७२ मा नेपाल वायुसेवा निगमको जहाज बस्यो । जिल्लाका सभासद्हरूसँगै बालबालिकाको क्षेत्रमा काम गरेर नोबेल शान्ति पुरस्कार प्राप्त गरेका कैलाश सत्यार्थी पनि जहाजबाट ओर्लिए । स्थानीयवासीमा नियमित उडान हुने आशा पलायो । तर, त्यो पनि ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ भनेजस्तो मात्र भयो ।

उक्त जहाज चार्टर गरेर ल्याइएको थियो ।स्थानीय भीमराज केसी (८६) भन्छन्, ‘ठूलाबडाले त चार्टर गरेर पनि जहाज ल्याउने भए । हामी भने आशै–आशामा मर्ने भयौँ ।’ राज्यले त्यति ठूलो लगानी गरेपछि सर्वसाधारणलाई सेवा दिनेगरी हवाई सेवा यथाशीघ्र सञ्चालन गर्नुपर्ने तुलसीपुरकी गिरिशा शर्माको सुझाव छ ।

उडानमा आनाकानी

प्राधिकरणले नियमित उडानमा आलटाल गरिरहेको छ । उद्योग वाणिज्य संघका महासचिव ओलीका अनुसार प्राधिकरणले कहिले यात्रु नपुग्ने र कहिले मन्त्री फेरिएर उडाउन सकिएन भन्छ । कहिले भने स्थानीय बासिन्दालाई रकम धरौटी राखे मात्र सेवा शुरु हुने बताउँछ । संघको आयोजनामा जिल्लाका सरोकारवाला, राजनीतिक दल र नागरिक समाजको प्रतिनिधि मण्डलले विमानस्थलमै नियमित उडानबारे छलफल गरियो । पत्रकार महासंघ जिल्ला शाखाले पनि नियमित उडानका लागि दबाब दिने उद्देश्यले धावन मार्गमै बैठक गर्‍यो । तर, त्यस्ता प्रयास सफल हुन सकेका छैनन् । विमानस्थलको कार्यालय भवन र उपकरणहरू जीर्ण बन्दै गएका छन् ।

संस्थापक निराश

लामो समयदेखि विमानस्थल सञ्चालनमा नआउँदा निर्माणका लागि अहोरात्र खटेका संस्थापक आचार्यका परिवार निराश देखिएका छन् । आचार्यका नाति सञ्जयकुमार भन्छन्, ‘पुर्खाको लगानी मात्रै खेर गयो । हजुरबाको सम्झनामा स्मारक बनाउने योजना गरिए पनि नियमित उडान हुन नसकेकाले त्यो निर्माण गर्न सकिएन ।’ स्थानीय वासुदेव आचार्य भन्छन्, ‘विमानस्थल त कालोपत्रे भयो तर हामीले जहाज होइन, त्यही कालोपत्रेको उराठलाग्दो दृश्यमै चित्त बुझाउनुपरेको छ । नियमित उडान भए हाम्रा पितृको मिहिनेत र लगानीको उचित सम्मान हुने थियो ।’

 

एक दशकअघिसम्म नियमित सेवा र व्यवस्थापनका लागि कर्मचारीको दलबल पनि नखटाइएको होइन । कार्यालयको तथ्यांकअनुसार ०५२ सालसम्म दुई अधिकृत, एक नायब सुब्बा, एक खरिदार र पाँच कार्यालय सहायकको दरबन्दी थियो । सेवा अनियमित हुन थालेपछि कर्मचारी कटौती गरियो । अहिले एक कार्यालय प्रमुख र एक सहायकको दरबन्दी मात्र छ । ती पनि ज्यालादारी र काजमा कार्यरत छन् । कार्यालयको वार्षिक तलबभत्ताबाहेकको खर्च ५० देखि ५५ हजार रुपैयाँ छ ।

विमानस्थल सञ्चालनका लागि आफूले पहल गरिरहेको र नियमित उडान भर्ने प्रतिबद्धता जनाइएने गरेको पूर्वपर्यटन मन्त्री लोकेन्द्र विष्ट बताउँछन् । निवर्तमान पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले पनि दुई महिनाअघि दाङ आएका बेला सेवा नियमित गराउने र तत्काल उडानको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए । उनको प्रतिबद्धता पनि हावामै बिलायो । शाहीले मन्त्रालयको प्राविधिक टोली खटाएर १० दिनसम्म सर्वे गराएका थिए । टोलीले विमानस्थल विस्तारका लागि सुझाव दिएको थियो । प्राधिकरणले नियमित उडान गर्न नसकिने बताउँदै आएको छ । त्यसका लागि जहाजको कमी र यात्रु अभावलाई कारण बताइने गरेको छ ।

फाट्टफुट्ट सेवा

२०११ सालदेखि सञ्चालनमा आएको विमानस्थल ०४७ सम्म फाट्टफुट्ट जहाज चले । ०४९ देखि ०५२ सालसम्म नियमित उडान भयो । ०५३ देखि ०६० सालसम्म सेवा अवरुद्ध भयो । फेरि ०६० सालदेखि उडान शुरु भयो र मंसिर ०६६ सम्म नियमित सञ्चालन भयो । १४ जेठ ०७१ देखि नियमित हवाई सेवा शुरु भयो, जुन नौ महिनापछि पुनः बन्द भयो र हालसम्म सञ्चालनमा आएको छैन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्