नेकपाको मासिक आम्दानी कति त हेर्नुहोस ?



वीरेन्द्र ओली,

काठमाण्डौ २० साउन।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को पार्टी सदस्यता शुल्कबाट मासिक साढे तीन करोड उठ्ने भएको छ । स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रुपैयाँ उठ्ने भएको हो । दुई पार्टी एकता भएको दिनदेखि नै पार्टीको सदस्य शुल्क बुझाउनुपर्ने नेकपा महासचिव विष्णु पौडेलले बताए ।नेकपाको अन्तरिम विधान २०७५ अनुसार पार्टीको संगठित सदस्यको मासिक शुल्क ५० रुपैयाँ राखिएको छ । सोहीअनुसार तत्कालीन एमालेको क्रियाशील सदस्यको संख्या चार लाख र तत्कालीन माओवादी केन्द्रले तीन लाख क्रियाशील सदस्य रहेको दाबी गरेका छन् । यसरी नेकपाको सात लाख क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ५० लाख रुपैयाँ आम्दानी हुने भएको छ ।

स्थानीय कमिटीबाट मात्रै मासिक चार लाख
पार्टीको स्थानीय कमिटीमा बसेका नेताले संगठित सदस्य शुल्कको १० प्रतिशत थप हुने गरी मासिक शुल्क बुझाउनुपर्नेछ । संगठित सदस्य शुल्क ५० रुपैयाँमा थप १० प्रतिशत जोड्दा स्थानीय पार्टी कमिटीले मासिक प्रतिव्यक्ति ५५ रुपैयाँ उठाउनुपर्नेछ । यसरी सात सय ५३ स्थानीय तह र ती स्थानीय तहका कुल ६ हजार सात सय ४३ वडा कमिटीमा बसेका नेताबाट मासिक सदस्य शुल्क चार लाख १२ हजार दुई सय ८० रुपैयाँ उठ्ने भएको छ ।

प्रदेश र जिल्ला कमिटीबाट मासिक आठ लाख ३३ हजार
प्रदेश र जिल्ला कमिटीको जिम्मेवारी लिएका नेताले संगठित सदस्य शुल्कमा २५ प्रतिशत थप गरेर बुझाउनुपर्नेछ । यस्तो हुँदा प्रदेश र जिल्ला कमिटी सदस्यको जिम्मेवारी लिएका नेताले प्रतिव्यक्ति मासिक ६३ रुपैयाँ बुझाउनुपर्नेछ । पार्टीको अन्तरिम विधानले प्रदेश कमिटीमा एक सय ५१ सदस्य हुने व्यवस्था गरेको छ ।

प्रदेश कमिटीका एक सय ५१ सदस्यसहित सात प्रदेशमा कुल ३६ सय पाँच नेताले जिम्मेवारी पाउनेछन् । यस्तै, जिल्ला कमिटीमा एक सय २५ सदस्यसहित ७७ जिल्लामा नौ हजार ६ सय २५ नेता–कार्यकर्ताले जिम्मेवारी पाउनेछन् । यसरी प्रदेश र जिल्ला कमिटी जिम्मेवारी लिएका नेताबाट मात्रै मासिक शुल्कबापत आठ लाख ३३ हजार चार सय ९० रुपैयाँ उठ्नेछ ।

केन्द्रीय सदस्यबाट मासिक ३० हजार
नेकपाको नियमावली २०७५ को सदस्य शुल्क र लेबी सम्बन्धको विधानको धारा ९ को ‘ख’को ४ बमोजिम संगठित सदस्यको शुल्क ५० रुपैयाँ हुने उल्लेख छ । सदस्य तथा संगठित सदस्यता शुल्कको ४० प्रतिशत केन्द्रीय कमिटीले मासिक शुल्क बुझाउनुपर्ने उल्लेख छ । यस्तो हँुदा केन्द्रीय कमिटीमा रहेका नेताले मासिक ७० रुपैयाँ बुझाउनुपर्नेछ । केन्द्रीय कमिटीमा रहेका चार सय ४१ नेताले मासिक सदस्य शुल्क ३० हजार आठ सय रुपैयाँ बुझाउनेछन् ।

विधानअनुसार सदस्य शुल्कको रकम खर्च गर्छौं : पौडेल

पार्टीको सबै एकता प्रक्रिया टुंगो लगाएपछि सदस्यता व्यवस्थापनमा लाग्ने नेकपा महासचिव विष्णु पौडेलले बताए । ‘हामीले जनवर्गीय संगठन र सबै पार्टी कमिटीको लगभग साउन महिना, नभए भदौ पहिलो हप्ताभित्र एकता गरिसक्छौँ,’ पौडेलले भने, ‘सबै जनवर्गीय संगठन र पार्टी कमिटीको एकतापछि पार्टी सदस्य व्यवस्थापनमा लाग्नेछौँ ।’ नेकपाका सबै क्रियाशील सदस्यलाई आधुनिक तरिकाले व्यवस्थित गरिने उनले बताए । ‘सबै क्रियाशील सदस्यबाट उठ्ने रकमलाई पारदर्शी ढंगले राख्नेछौँ,’ उनले भने, ‘यसरी उठेको रकम विधानअनुसार नै खर्च गर्छौं ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्