काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदैछन् । चौथो पटक नेपाल आउन लागेका उनी आगामी भदौ १४ गते नेपाल आउने कार्यसूची रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदी भदौ १४ र १५ गते नेपालमा हुने चौथो विमस्टेक बैठकमा सहभागि हुन नेपाल आउन लागेका हुन् ।
यो पटकको भ्रमणका क्रममा मोदी पोखरा तथा गौतमबुद्धको जन्मस्थल लुम्बिनी पुग्ने योजना छ ।
यसअघिको भ्रमणमा मुस्ताङबाट पोखरा फर्कने कार्ययोजना भएपनि समय अभावका कारण मोदी पोखरा जान सकेका थिएनन् ।
यसपटकको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोलीले पशुपति क्षेत्र विकास कोष परिसरमा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन गर्ने कार्यसूची पनि बनाइएको छ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास विमस्टेक नामक क्षेत्रीय संगठनको नेपाल अध्यक्ष राष्ट्र हो । यो संगठनमा भारत, वंगलादेश, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान सदस्य राष्ट्र छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।