साउन २० काठमाडौं । गोरखाको धार्चे गाउँपालिका ६ काशीगाउँका ५२ वर्षीय भीमकुमार गुरुङको साउन १० गते मृत्यु भयो।
गत मंसिरदेखि बिरामी परेर थलिएका गुरुङलाई पोखरालगायत विभिन्न सहरका अस्पताल पुर्याएर आफन्तले उपचार गरे। रगत छाद्ने समस्याबाट पीडित भीमकुमार निको भएनन्। यो खबर प्रशन्न पोखरेलले सेतोपाटीमा लेखेका छन् ।
अस्पतालको औषधिमुलोले ठीक नभएको भन्दै आफन्तले उनलाई गाउँ लगे। छिमेकी गाउँ धोरतका झाँक्रीको निगरानीमा भीमकुमारलाई राखियो। झाँक्रीकै घरमा राखेर फुकफाक गर्दा उनले संसार छाडे । साउन १० गते भीमकुमारको मृत्यु भए पनि गाउँलेहरूले ११ गते अन्तेष्टि गर्ने तयारी गरे।
यत्तिकैमा गाउँका केही युवाहरूले बोक्सी लागेर भीमकुमारको मृत्यु भएको तथा उनको पेटभित्र बोक्सीले भ्यागुता, सर्प र छेपारो राखेको भन्दै शव चिरफार गर्न सुरू गरे।
शव अन्त्येष्टी गर्न चिहानडाँडा पुर्याएपछि धारिलो हतियार ९खुकुरी, चक्कु र हँसिया० ले शवको चिरफार गरेको भन्ने जानकारी आफूले पाएको धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले बताए।
‘गाउँका केही उच्छृंखल युवाले परिवारको अनुमति बेगर नै शव चिरफार गरेछन्’ प्रमुख गुरुङले सेतोपाटीसँग भने, ‘युवाहरूले भनेजस्तो मृतकको पेटभित्र भ्यागुता, सर्प र छेपारो केही भेटिएनछ।’ बोक्सी लागेर मरेकाहरूको पेटमा भ्यागुता, सर्प र छेपारो हुने अन्धविश्वास गाउँमा छ।
स्थानीय युवा रोशन गुरुङ नेतृत्वको समूहले शव चिरफार गरेको तथा गाउँकै ५६ वर्षीया काली गुरुङ र उनकी छोरी २९ वर्षीया मीनकुमारीलाई बोक्सी आरोप लगाइएको छ।
रोशनविरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि मात्रै घटना बाहिर आएको हो।
युवाहरूले शव चिरेको भोलिपल्ट साउन १२ गतेदेखि बोक्सी आरोपमा हाम्रो परिवारका सदस्य ९आमा र दिदी० लाई सामाजिक बहिष्कार गरेपछि उनीहरूविरुद्ध कारबाहीका लागि सोममाया गुरुङले प्रहरी गुहारेकी छन्। सोममायाका अनुसार गाउँलेहरूले परिवारलाई सामाजिक बन्देज लगाए भने गाउँमा मान्छे मरेको ठाउँमा चामल लैजान पनि रोके। बोक्सीको परिवारले छोएको पानी चल्दैन भनेर बारेका छन्।
गाउँमा भएको यो कु(संस्कार र घटनाबारे वडाध्यक्ष धनकुमार घलेले आफूलाई खासै जानकारी नभएको प्रतिक्रिया दिए। गाउँमा घटेको घटनाले आफू पनि अचम्ममा परेको उनको भनाइ छ।
‘म राजधानीबाट सदरमुकाम आइपुगेको छु। गाउँ बाहिर छु’ उनले सेतोपाटीसँग भने, ‘घटना घटेको भन्ने समाचार मिडियाबाट सुनेँ। म पनि झसंग भएको छु। के भएको हो सत्यत्थ्य बुझ्दैछु। भरैसम्म जानकारी लिइसक्छु। दोषी पहिचान गरी कारबाही गर्नुपर्छ। प्रहरीकोमा निवेदन परेको भन्ने सुनेँ। प्रहरीले घटनाबारे अनुसन्धान गर्ला, हामी ९जनप्रतिनिधिहरु० पनि घटनाबारे सत्यतथ्य बुझ्छौं।’
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक विमल बस्नेतले घटनाबारे ढिला गरी प्रहरीकोमा जानकारी आएको बताए। ‘ढिला गरी जाहेरी आएको छ। मुद्दा दर्ता गरेर घटनाबारे सुक्ष्म रूपमा अनुसन्धान सुरू गरिसकेका छौं। दोषी पहिचान गरी कानूनअनुसार कारबाही गरिन्छ,’ उनले भने।
चिरफार गरिएको शव साउन ११ गते नै अन्तेष्टि गरिएको थियो। घटना घटेको ठाउँ काशीगाउँमा प्रहरी चौकी छैन। सदरमुकामबाट एक दिन पैदल हिडेपछि काशीगाउँ पुगिन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।