नेपाली कांग्रेस स्याङ्जा सभापति पंगेनीको निधन



स्याङ्जा – नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति एवं पूर्व सांसद कमल प्रसाद पंगेनीको हृदयघातका कारण आइतबार बिहान निधन भएको छ। निधनको बारेमा अस्पताल र नेपाली कांग्रेस पार्टी जिल्ला कार्य समितिले भने अझै आधिकारिक धारण सार्वजनिक गरेको छैन।

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर दुईका सभापति अर्जुन अर्यालले भने, ‘पार्टी सभापति कमल दाइको मृत्यु भएको अझै पुष्टि भएको छैन।’ अस्पताल र पार्टीका नेताहरु बीच मृत्युको बारे सार्वजनिक गर्ने तयारी भइरहेकाे अर्यालले जानकारी दिए।

भीरकोट नगरपालिका–६ खिलुङ् देउराली आफ्नै घरमा सुतेको अवस्थामा स्वास्थ्यमा असहज महसुस भएको जानकारी गराएपछि उनका परिवारले कालिका सामुदायिक अस्पताल हेलुमा पु-याएका थिए।

तीन पटक नेपाली कांग्रेस जिल्ला सभापति हुन सफल पंगेनी संबिधानसभा दोश्रो निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए। यसपटक प्रदेशसभा १ ‘क’ बाट उम्मेदवार बनेका पंगेनी नेकपाका उम्मेदवार दीपक थापा मगरसँग पराजित भएका थिए।

विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका पंगेनी स्याङ्जाका लोकप्रिय नेता हुन्। उनी स्पष्ट वक्ताका रुपमा चिनिन्छन्। पंगेनीका पत्नी, एक छोरा र एक छोरी छन्। उनको ५५ वर्षको उमेरमा मृत्यु भएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्