कृष्ण अधिकारी हत्या प्रकरण – अाज २१ अाैं पेसी, बहस सुरू



रमेशकुमार पौडेल,

चितवन ।— सशस्त्र द्वन्द्वका बेला हत्या भएका गोरखाका कृष्ण अधिकारीका विषयमा चितवन जिल्ला अदालतमा दायर मुद्दाको पेसी आइतबार तय भएको छ ।जिल्ला न्यायाधीस कुलप्रसाद शर्माको इजलासमा मुद्दाको सुनुवाइ सुरू भएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए। गोरखा फुजेलबाट चितवन रत्ननगरमा हजुरबुबा हजुरआमा भेट्न आएका कृष्ण अधिकारीको ६१ साल जेठ २४ मा अपहरणपछि हत्या भएको थियो। जसको तत्कालीन विद्रोही माओवादीले जिम्मा लिएको थियो।

यो घटनाविरूद्ध चितवन जिल्ला अदालतमा २०७० सालको चैत्रमा १३ जनाविरूद्ध मुद्दा दायर भएको थियो। मुद्दामा माओवादीका नेताहरूलाई नभएर अधिकांश छिमेकी र आफन्तलाई अभियोग लगाइएको छ। ुजनयुद्धु को घटनाका विषयमा मुद्दा चलाएको भनेर माओवादी पक्षले आन्दोलनसमेत गरेको थियो।

मुद्दा दायर भएको दुई वर्षभित्र फैसला आउने परिपाटी रहे पनि यो मुद्दा चार वर्षभन्दा बढी समयदेखि प्रक्रियामा नै अल्झेको छ। पेसी तोकेका दिन अनेक कारणहरूले बहस रोकिँदै आएको थियो। आजको पेसी २१ औं हो।

मुद्दाका पक्ष विपक्षका कानुन व्यवसायीहरूको बहस ७३ सालको असोज ११ मै सकिएको थियो। तर तत्कालीन जिल्ला न्यायाधीश टेकनारायण कुँवरले फैसला नसुनाएर मुद्दा गम्भीर भन्दै लिखित बहस पेश गर्न भनेका थिए।

सोही वर्षको कात्तिक ५ मा लिखित बहस अदालतमा पेश भयो। तर त्यसपछि पटक पटक पेशी सर्दै आयो। गएको फागुन १३ को पेशीमा बल्ल बहस भएको थियो। त्यो बेला जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले उजुरीकर्ता झिकाउन आदेश दिएका थिए।

यो घटनाका विषयमा मृतक कृष्णका बुबा नन्दप्रसाद र दाजु नुरप्रसादले घटना लगत्तै चितवन प्रहरीमा उजुरी दिएका थिए। तर लामो समय छानबिन सुरू भएन।

बाबु नन्दप्रसाद र आमा गंगामायाले अनसन सुरू गरेपछि ७० सालको साउन अन्तिमबाट अनुसन्धान सुरू भएर चैत्र अन्तिममा मुद्दा दायर भएको थियो। अनसनका क्रममा नै बाबु नन्दप्रसादको निधन भएको छ। उनको दाह संस्कार पनि भएको छैन। दाजु नुरप्रसाद सम्पर्कमा छैनन्। आमा गंगामाया पनि अनशनमा नै थिइन्। केही दिनअघि मात्र उनले अनशन तोडेकी छन्। बहस भएर अदालतले के निर्णय सुनाउँछरु आज धेरैले चासो राखेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्